भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

भरतपुर महानगर कक्षा ८ को नतिजा : सामुदायिक ३९, निजी ७० प्रतिशत उत्तीर्ण

केन्द्रबिन्दु
3
Shares

चितवन । सरकारले लगानी गरेको यहाँका सामुदायिक विद्यालयको नतिजा दयनीय देखिएको छ । हालै सार्वजनिक कक्षा ८ को नतिजामा प्रगति हुन नसकेको हो । भरतपुर महानगरपालिका, शिक्षा महाशाखा प्रमुख सुवाष आचार्यका अनुसार कक्षा ८ मा सामुदायिक विद्यालयतर्फको उत्तीर्ण प्रतिशत ३९ दशमलव ०१ प्रतिशत मात्र छ । निजी विद्यालयहरूको प्रतिशत ७० दशमलव ३२ प्रतिशत छ । समग्रमा उत्तीर्ण प्रतिशत ५६ दशमलव ८१ प्रतिशत रहेको छ ।


अघिल्लो वर्षको तुलनामा समग्रमा छ प्रतिशत घटेको हो । सामुदायिक विद्यालयमा तीन प्रतिशतले घटेको छ । यस वर्ष सात हजार ५८९ विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका थिए । महानगरपालिकामा ७४ सामुदायिक विद्यालय र ८४ निजी विद्यालय छन् ।भरतपुर–२९ को आधारभूत विद्यालय चौकी र भरतपुर–१७ को आधारभूत विद्यालय लगौटाको नतिजा शून्य आएको छ । महानगरभित्रका केही विद्यालयको नतिजा राम्रो भए पनि अधिकांश सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कमजोर देखिएको छ । आचार्यले सरकारी विद्यालयको नतिजा लाजमर्दो देखिएको बताएका छन् ।


आठ वटा सामुदायिक विद्यालयको नतिजा १५ प्रतिशत मात्र उत्तीर्ण छ । १५ देखि २० प्रतिशत मात्र उत्तीर्ण हुने १५ वटा विद्यालय छन् भने २० देखि ३० प्रतिशत उत्तीर्ण हुने १७ वटा विद्यालय रहेका छन् । औसत ३९ दशमलव ०१ प्रतिशत उत्तीर्ण हुने ५६ वटा विद्यालय मात्र रहेका छन् । ५० प्रतिशतभन्दा बढी उत्तीर्ण हुने विद्यालयको संख्या नौ छ । विद्यालयको गुणस्तर सुधार गर्न कक्षा कोठामै हस्तक्षेप गर्नुपर्ने देखिएको छ । दरबन्दी थपेर मात्र गुणस्तर नसुध्रिएको उल्लेख गरिएको छ ।


सङ्घीय बजेटबाहेक भरतपुर महानगरपालिकाले वार्षिक रु १० करोड ५० लाख शिक्षामा खर्च गर्ने गरेको छ । शिक्षकको क्षमता विकासका लागि खर्च पर्याप्त नभएको देखिएको छ । महानगरले युवा स्वयंसेवक शिक्षकका लागि वार्षिक रु दुई करोड ५० लाख, बालविकास सहजकर्ता, लेखापाल र कार्यालय सहयोगीका लागि थप रु दुई करोड ५० लाख खर्च गर्ने गरेको छ । दिवा खाजाका लागि प्रति विद्यार्थी रु पाँच थप गरिएको छ । समग्रमा गुणस्तर विकासका लागि महानगरपालिकाको लगानी पनि कम भएको भन्दै शिक्षा सुधारका लागि लगानी बढाएर हस्तक्षेपकारी भूमिका आवश्यक रहेको देखिएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा. डा. सूर्यकान्त घिमिरेका अनुसार सरकारी विद्यालयमा पर्याप्त जनशक्ति र पूर्वाधार भए पनि नतिजा कमजोर देखिनु राम्रो संकेत होइन । शिक्षकलाई कामप्रति आकर्षित गर्ने विषयमा ध्यान दिनुपर्ने र तालिममार्फत सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ ।

शिक्षा क्षेत्रमा काम गर्दै आएका रमाकान्त सापकोटाका अनुसार शिक्षा क्षेत्रमा नयाँ शैली अपनाउनुपर्ने अवस्था आएको छ । शिक्षकले प्रविधि प्रयोग गरेर पढाउनुपर्ने र विद्यार्थीको रुचि बढाउने उपाय खोज्नुपर्ने देखिएको छ । पुरानो शैली परिवर्तन गरेर नयाँ ढंगले पढाउने विषयमा महानगरले ध्यान दिनुपर्ने सुझाव आएको छ ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार विद्यालय तहदेखि नै शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक छ । नतिजा राज्यको लगानीको तुलनामा कमजोर रहेको भन्दै विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक सबै मिलेर सुधारमा लाग्नुपर्ने देखिएको छ । महानगरले आवश्यक छलफल गरेर सुधारका लागि काम गर्ने बताइएको छ ।

Logo