‘इतिहास पुरुषः ज्ञानमणि’ स्मृतिग्रन्थको लोकार्पण

‘इतिहास पुरुषः ज्ञानमणि’ स्मृतिग्रन्थको लोकार्पण

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । इतिहासविद् ज्ञानमणि नेपालको दोस्रो स्मृति दिवसका अवसरमा वैयाकरण नेपाल स्मृति प्रतिष्ठानद्वारा प्रकाशित बृहत् स्मृतिग्रन्थ ‘इतिहास पुरुष: ज्ञानमणि’ को लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्य पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र विशेष आतिथ्य न्यायशताब्दी पुरुष कृष्णप्रसाद भण्डारीले गरेका थिए । प्रतिष्ठानका अध्यक्ष एकमणि नेपालको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्राज्ञिक क्षेत्रका विद्वान्, लेखक तथा साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले ज्ञानमणि नेपालले इतिहास, संस्कृति र साहित्य क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको चर्चा गर्दै उनका ग्रन्थहरू नेपाली समाजका लागि अमूल्य सम्पदा भएको बताएका थिए ।

समारोहमा पूर्वमन्त्री एवं साहित्यकार शङ्करप्रसाद कोइराला, इतिहासविद् प्राध्यापक दिनेशराज पन्त, प्रा.डा. हरिप्रसाद पराजुली, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, भोजपुरको टेम्के मैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतलगायत वक्ताहरूले ज्ञानमणि नेपालको बहुआयामिक व्यक्तित्व र प्राज्ञिक योगदानमाथि प्रकाश पारेका थिए ।

प्रतिष्ठानका सचिव एवं स्मृतिग्रन्थका सम्पादक कोषराज न्यौपानेले विषय प्रवेश तथा स्वागत मन्तव्य राखेका थिए । अर्का सम्पादक प्रह्लाद पोख्रेलले ग्रन्थले ज्ञानमणि नेपालको जीवन, व्यक्तित्व र बौद्धिक योगदानलाई एक्काइसौं शताब्दीको नेपाली सामाजिक–सांस्कृतिक सन्दर्भमा विराट् रूपमा प्रस्तुत गरेको बताए ।

स्मृतिग्रन्थका व्यवस्थापक तथा प्रतिष्ठानका सहसचिव सन्तोषमणि नेपाल (ज्ञानमणिका सुपुत्र) ले प्रकाशन प्रक्रिया र ग्रन्थमा समाविष्ट विविध विषयबारे जानकारी दिएका थिए । उनले सम्पूर्ण सहभागी तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।

ज्ञानमणि नेपाल (१९८९ माघ १७ – २०८१ जेठ १) इतिहास, संस्कृति र साहित्यका क्षेत्रमा प्रामाणिक अनुसन्धान, तथ्यगत विश्लेषण र निर्भीक प्रस्तुतिका लागि परिचित विद्वान् थिए । ‘इतिहास पुरुष: ज्ञानमणि’ उनको बहुआयामिक योगदानलाई स्थायी दस्तावेजका रूपमा सङ्ग्रहण गर्ने महत्वपूर्ण कृति बन्न पुगेको छ ।

Logo