भक्तपुर । भक्तपुरको एक मात्रै क्यूएए (क्वालिटी एस्युरेन्स एन्ड एक्रेडिएस) मान्यता प्राप्त गरेको सामुदायिक कलेज वागिश्वरी कलेज र वागिश्वरी कलेज अफ म्यानेजमेन्टले आयोजना गरेको आ.व. २०८३/८४ को बजेटबारे अन्तर्क्रिया कार्यक्रम गहन छलफल र सिर्जनात्मक विश्लेषणका साथ सम्पन्न भएको छ ।
बागमती प्रदेश सभा सांसद सिर्जना सैंजुको प्रमुख आतिथ्यमा बुधबार कलेजमा स्नातक तहमा बीबीए र बीबीएस लिएर अध्ययनरत विद्यार्थी, शिक्षक र जनप्रतिनिधिहरुले आगामी आर्थिक वर्षको बजेटबारे विभिन्न प्रस्तुती दिँदै गहन छलफल र आलोचनात्मक विश्लेषण गरेका हुन् ।
विद्यार्थीहरूमा देशको अर्थतन्त्र र बजेटको विश्लेषणात्मक ढंगले बुझ्ने र मूल्यांकन गर्ने क्षमता विकास गराउन कलेजले हरेक वर्ष झैं सो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि एवम् बागमती प्रदेश सभा सांसद सिर्जना सैंजुले सरकारले निकै विरोधाभास पूर्ण बजेट ल्याएको बताउँदै सुनमा छुट र सुनमा भने कर लगाइएको भन्दै आलोचना गरेकी छिन् । कृषि, उत्पादन र उद्योगलाई प्राथमिकता नदिइएकोमा असन्तुष्टि व्यक्त गर्दै सैंजुले देश ऋणको जालोमा फस्दै गएको टिप्पणी गरिन् । हेटौंडा कपडा उद्योग लगायतका उद्योगहरुलाई ब्युताउनुपर्ने धारणा सैंजुको छ ।
साथै वागिश्वरी कलेजले अर्थतन्त्रलाई हेर्ने व्यक्तिगत दृष्टिकोण विकास गर्न ठुलो भुमिका खेलेको स्मरण गर्दै वागिश्वरी कलेज आफ्नै नीति र व्यवस्थाका कारण सफल हुन सकेको भन्दै कलेजको प्रशंसा गरिन् । सरकारले पुँजीवादको सट्टा समाजवाद लागु गर्दा बल्ल मात्रै वास्तविक भुइँमान्छेलाई बजेटले समेट्न सक्ने धारणा उनको छ ।
त्यसैगरी कार्यक्रमका सभापति एवम् वागिश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले वि.सं. २००८ माघ २१ गते तत्कालिन अर्थमन्त्री सुवर्ण मल्लले पहिलो बजेट ल्याएको स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेटको बारेमा विद्यार्थीहरुले निकै सिर्जनात्मक ढंगले विश्लेषण गरेको बताए ।
कर छुट दिँदा राजस्व संकलन गर्न चुनौती हुने धारणा राख्दै आगामी आर्थिक वर्षको बजेट फेरी संशोधन हुन सक्ने सम्भावना रहेको धारणा राखे । सरकारले प्रस्तुत गरेको बजेटले निम्न वर्गका जनतालाई नभई पुँजीपति र उच्च वर्गलाई लक्षित गरेर ल्याइएको टिप्पणी पनि गरे ।
त्यसैगरी वागिश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरूमा सिर्जनशीलता र सिर्जनात्मकता विकास गर्न हरेक वर्ष कलेजले यस्तै कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । यस्ता कार्यक्रमले विद्यार्थीहरुलाई मात्रै नभई शिक्षकहरुलाई पनि अर्थतन्त्रको विषयमा अपडेट हुने अवसर प्रदान गर्ने उनको धारणा छ । साथै अनुसन्धान र खोजको क्षेत्रमा पनि यस्तै छलफल र अन्तरक्रियाले सहयोग पुग्ने विश्लेषण उनको छ ।
कलेजका संयोजक ज्ञान सागर प्रजापतिले विद्यार्थीहरुलाई पाठ्यक्रम र कक्षाकोठामा मात्रै सिमित नगरी अर्थशास्त्रका सैद्धान्तिक कुरामा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । साथै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा बजेट र अर्थतन्त्रलाई विश्लेषणात्मक ढंगले बुझ्ने क्षमता विकास गर्ने विश्वास पनि व्यक्त गरे ।
त्यस्तै वागिश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद कर्माचार्यले बजेट निकै महत्वकांक्षी भएको बताउँदै कार्यान्वयनका लागि चुनौतीहरुको सामना गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा अर्थशास्त्रका शिक्षक र विद्यार्थीहरुले विभिन्न कोणबाट बजेटको विश्लेषण गर्दै प्रस्तुति दिएका थिए । अर्थशास्त्रका शिक्षकहरु बालगोपाल श्रेष्ठले आ.व. २०८२/८३ र आ.व. २०८३/८४ को बजेटको तुलनात्मक विश्लेषणको विषयमा, मुरज दिदियाले बजेटको आलोचनात्मक विश्लेषण र पत्रकारिताका शिक्षक एवम् राजधानी दैनिकका अर्थ संवाददाता पूर्ण भक्त दुवालले पुँजीगत खर्च र बजेटको कमजोरीसँगै चुनौतीहरूका विषयमा प्रस्तुतीकरण दिएका छन् ।
त्यसैगरी विद्यार्थीहरूमा भने बीबीएकी विद्यार्थी अनिशा किलम्बुले बजेटमा सुचना प्रविधि र कृत्रिम बुद्धिमताको क्षेत्रमा गरिएको विनियोजन, बीबीए चौथो सेमेस्टरकी विद्यार्थी निशा कार्कीले गुणस्तरीय शिक्षामा गरिएको विनियोजन र बीबीएस प्रथम वर्षका विद्यार्थी रघु नन्दन महतोले बजेटको आलोचनात्मक र सिर्जनात्मक विषयलगायतमा प्रस्तुतीकरण दिएका छन् ।





























प्रतिक्रिया