काठमाडौं । प्याब्सनका पूर्वअध्यक्ष एवं रेडियन्ट स्कुलका संस्थापक डिके ढुंगानाले सरकारले सबै काम एक्लै गर्न नसक्ने भएकाले निजी क्षेत्रलाई निरुत्साहित गर्नुको साटो लगानी र उद्यमशीलताको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।
केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा सम्पन्न ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत ‘के नेपाललाई एजुकेशन हब बनाउन सकिन्छ ?’ विषयक प्यानल डिस्कसनमा ढुंगानाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी वाचापत्रमा नेपाललाई शैक्षिक हब बनाउने कुरा समेटिए पनि बजेटमा विद्वान् अर्थमन्त्रीले त्यसलाई ठाउँ नदिएको भन्दै असन्तुष्टि जनाए ।
नीति निर्माताहरूमा निजी क्षेत्रमा काम गर्नेसँग बुद्धि नै हुँदैन भन्ने भ्रम रहेको टिप्पणी गर्दै उनले नयाँ सरकारले १०० दिन पनि पूरा नगरेको अवस्थामा अब नयाँ ढङ्गले सोच्नुपर्ने बताए । ‘सबै काम गभर्मेन्टले मात्रै गर्न सक्दैन, रिसोर्स जेनेरेट गर्ने जहिले पनि प्राइभेट सेक्टरले हो । बढीभन्दा बढी लगानी गर र बढीभन्दा बढी ट्याक्स तिर भनेर जबसम्म प्राइभेट सेक्टरलाई इन्करेज गरिँदैन, तबसम्म हामी समृद्धिको बाटोमा जानै सक्दैनौँ । जनताले मन पराएर बनाएको रास्वपाको सरकारलाई पनि भोलि यही चुनौती आउनेवाला छ । ट्याक्स मात्रै बेसरी उठाउने तर लगानीको वातावरण नबनाउने हो भने देश अगाडि बढ्दैन,’ उनले भने ।
सरकारले ल्याएको समता करको विषयमा बोल्दै उनले सामुदायिक विद्यालयहरूलाई थप सबल बनाउन सक्षम अभिभावकहरूलाई दान गर्न प्रोत्साहित गर्ने प्रगतिशील सोचको स्वागत गरे । तर, निजी विद्यालयमा पढाउने अभिभावकहरूलाई थप करको भार थप्नु न्यायोचित नभएको उनको तर्क थियो । ‘निजी स्कुलमा पढाउने अभिभावकले ‘मैले मेरा छोराछोरीको जिम्मा आफैँ लिएँ सरकार, ४० प्रतिशत केटाकेटीको खर्च तिमीले अरू बाँकीलाई गर’ भनेर राज्यको ठुलो बोझ हल गरिदिएका छन् । त्यस्ता अभिभावकलाई रिवार्ड गर्नुपर्ने ठाउँमा ट्याक्स लगाएर पनिसमेन्ट दिनु न्यायोचित होइन । यद्यपि, समता शुल्क कर नै लगाएर सही, रास्वपा सरकारले निजी विद्यालयको अस्तित्व र योगदानलाई पहिलो पटक रिकोग्नाइज गरेको छ, यसका लागि म धन्यवाद दिन चाहन्छु,’ उनले भने ।
बहसका क्रममा ढुंगानाले गत वर्ष आफू प्याब्सन अध्यक्ष हुँदा संसदीय टोलीसँग फिनल्यान्ड भ्रमण गरेको स्मरण गर्दै नेपालका निजी विद्यालयहरूले अन्तर्राष्ट्रिय स्तरकै उत्कृष्ट काम गरिरहेको दाबी गरे । फिनल्यान्डको शिक्षा पूर्ण रूपमा निःशुल्क नभएको र त्यहाँभित्र पनि निजी क्षेत्र लुकेको कुरा आफूले प्रत्यक्ष देखेको उनले सुनाए ।
फिनल्यान्डको शिक्षा प्रणालीसँग तुलना गर्दै ढुंगानाले भने, ‘फिनल्यान्डमा बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मात्र गभर्मेन्टले फ्रि गर्छ । त्यसपछि काममा जाने अभिभावकले अतिरिक्त समय हेरचाह र बसको लागि मासिक ३,००० युरोसम्म छुट्टै तिर्नुपर्दो रहेछ । त्यहाँ प्रत्येक एक्स्ट्रा विषयको छुट्टै पैसा लाग्छ । तर नेपालमा निजी विद्यालयहरूले ५ देखि ७ हजार रुपैयाँको एउटै प्याकेजमा ८ घण्टा केटाकेटी हेर्ने, अङ्ग्रेजी माध्यम, खेलकुद, म्युजिक, डान्स सबै गराइरहेका छन् ।’
ढुंगानाले नेपाली विद्यार्थीहरूलाई विश्वबजारमा बिक्न सक्ने बनाउन र निजी कलेजहरूमा पनि विदेशी विद्यार्थी ल्याउन अनिवार्य गर्ने नीति बनाउनुपर्नेमा जोड दिए । साथै, सामाजिक सञ्जालमा बढ्दै गएको गालीगलौज र नकारात्मक भाष्यलाई चिर्न सार्वजनिक व्यक्तित्वहरूले जिम्मेवार आचरण देखाउनुपर्ने बताए, अन्यथा कक्षाकोठामै शिक्षकहरू कुटिने अराजक स्थिति आउने चेतावनी दिए ।
उनले भने, ‘यसलाई परिवर्तन गर्न जो रोल मोडल हुनुहुन्छ, जसलाई पब्लिकले फलो गर्छ, उहाँहरूले आफ्नो व्यवहारमा बहुत ध्यान दिन जरुरी छ । हाम्रा विद्यार्थीलाई ग्लोबल मार्केटमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु आजको आवश्यकता हो । त्यसैले नीति निर्माताहरूले निजी क्षेत्रलाई साझेदार ठानेर सहकार्यको बाटो रोज्नुपर्छ ।’





























प्रतिक्रिया