अस्ट्रेलियामा विद्यार्थी भिसा शुल्क ह्वात्तै बढ्यो

अस्ट्रेलियामा विद्यार्थी भिसा शुल्क ह्वात्तै बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । अस्ट्रेलिया सरकारले विद्यार्थी भिसा शुल्कमा पुनः भारी वृद्धि गरेको छ।

पछिल्लो निर्णयअनुसार, विद्यार्थी भिसाको आवेदन शुल्क २,००० अस्ट्रेलियन डलरबाट बढाएर २,५०० डलर पुर्‍याइएको छ। यसका साथै, अंग्रेजी भाषा पाठ्यक्रम पढ्ने विद्यार्थीहरूका लागि पहिलोपटक छुट्टै शुल्क संरचना तोक्दै २,०५० डलर निर्धारण गरिएको छ।

यसअघि यस्ता विद्यार्थीहरूले पनि सामान्य विद्यार्थी सरह नै शुल्क तिर्दै आएका थिए। भाषा पाठ्यक्रमको छोटो अवधि र घट्दो भर्ना दरलाई ध्यानमा राख्दै शुल्क घटाउन व्यवसायीहरूले माग गरे पनि सरकारले उल्टै शुल्क बढाएको हो। यद्यपि, प्रशान्त महासागर क्षेत्र र आसियान मुलुकका विद्यार्थीहरूलाई भने केही छुटको व्यवस्था गरिएको जनाइएको छ।

त्यस्तै, पढाइ सकिएपछि अस्ट्रेलियामा बसेर काम गर्न पाइने ‘टेम्पोररी ग्रेजुएट भिसा’को शुल्कमा २५ प्रतिशतले वृद्धि गरी ५,७५० अस्ट्रेलियन डलर पुर्‍याइएको छ। यो वर्षको सुरुवातमै २,३०० डलर रहेको यो भिसा शुल्क मार्च महिनामा दोब्बर बनाएर ४,६०० डलर पुर्‍याइएको थियो। हालको वृद्धि सँगै यो शुल्क वर्षको सुरुको तुलनामा १५० प्रतिशत महँगो भइसकेको छ।

तर, सरकारको यो कदमलाई लिएर अस्ट्रेलियाको उच्च शिक्षा र विद्यार्थी संगठनहरूले तीव्र आक्रोश व्यक्त गरेका छन्।

Logo