सीको जोड: बलियो सेना र भ्रष्टाचार अन्त्य

सीको जोड: बलियो सेना र भ्रष्टाचार अन्त्य

केन्द्रबिन्दु
15
Shares

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने, सेनाको आधुनिकीकरणलाई तीव्रता दिने र सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारविरुद्धको अभियानलाई अझ कडा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले ताइवानलाई चीनसँग एकीकरण गर्ने लक्ष्य पनि पुनः दोहोर्‍याउँदै बाह्य हस्तक्षेपको विरोध गर्न आग्रह गरेका हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको १०५औँ स्थापना दिवसका अवसरमा ग्रेट हल अफ द पिपुलमा आयोजित कार्यक्रममा राजनीतिक तथा सैन्य नेतृत्वलाई सम्बोधन गर्दै सीले सशस्त्र सेनामाथि पार्टीको पूर्ण नेतृत्व कायम राख्दै राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरणलाई निरन्तर अघि बढाइने बताए । उनले बलियो सेना राष्ट्रिय सुरक्षाको आधार भएको उल्लेख गर्दै रक्षा क्षमता थप सुदृढ बनाइने धारणा राखे ।

सीले पार्टीले भ्रष्टाचारविरुद्धको दीर्घकालीन र व्यापक अभियानलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताए । उनको नेतृत्वमा सञ्चालित भ्रष्टाचारविरोधी अभियानका क्रममा पछिल्ला तीन वर्षमा दुई जना रक्षामन्त्री पदमुक्त भएका छन् भने चीनको सर्वोच्च सैन्य निकाय केन्द्रीय सैन्य आयोगमा पनि व्यापक फेरबदल भएको छ । यही अभियानका कारण चिनियाँ सेनाको युद्ध क्षमता र नेतृत्व संरचनामाथि विश्लेषकहरूले प्रश्नसमेत उठाउँदै आएका छन् ।

यसअघि मे महिनामा केन्द्रीय सैन्य आयोगले वरिष्ठ सैन्य अधिकारीमाथि कडा शिक्षा, व्यवस्थापन र निगरानी लागू गर्ने नयाँ व्यवस्था सार्वजनिक गरेको थियो । यसको उद्देश्य सेनाभित्र अनुशासन र पारदर्शिता सुदृढ गर्नु रहेको बताइएको छ ।

सम्बोधनका क्रममा सीले ताइवान चीनको अभिन्न हिस्सा रहेको दोहोर्‍याउँदै ताइवानसँगको पूर्ण एकीकरण चिनियाँ कम्युनिस्ट पार्टीको ऐतिहासिक लक्ष्य र सम्पूर्ण चिनियाँ जनताको साझा आकांक्षा भएको बताए । कुनै देशको नाम उल्लेख नगरी उनले बाह्य शक्तिको हस्तक्षेपको दृढतापूर्वक प्रतिरोध गर्न पनि आह्वान गरे ।

सन् १९२१ जुलाई १ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीको सन् २०२५ को अन्त्यसम्म १० करोड १० लाखभन्दा बढी सदस्य रहेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । -एएफपी

Logo