नेपालमा प्रदर्शन हुँदै ‘बेबी डु डाइ डु’, टिकट बुकिङ खुला

नेपालमा प्रदर्शन हुँदै ‘बेबी डु डाइ डु’, टिकट बुकिङ खुला

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । बलिउड सिनेमा ‘बेबी डु डाइ डु’ नेपालमा प्रदर्शन हुने भएको छ । सिनेमा यही आगामी जुलाई ३ अर्थात् असार १९ गते देखि नेपालमा प्रदर्शन हुन लागेको हो ।

सिनेमाका कलाकारले प्रचारप्रसारको क्रममा नेपालमा पनि एकसाथ प्रदर्शन हुन लागेको जानकारी दिएका हुन् । कलाकार हुमा कुरेशी र चंकी पाण्डेले एक भिडियोमार्फत सिनेमा नेपालमा प्रदर्शन हुन लागेको र टिकट बुकिङ खुलिसकेको जानकारी दिएका छन् ।

साकिब सलीमले निर्माण गरेको सिनेमा सिंहदेवी प्रोडक्सनले नेपालमा वितरण गर्न लागेको हो । केही हलमा सिनेमाको टिकट बुकिङ खुलाइएको छ । देशकै ठूलो मल्टिप्लेक्स हल क्युएफएक्स सिनेमाजले राइजिङ मल, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल र सिटी स्क्वायर मलमा सो खुलाएको छ ।

एक्सन र थ्रिलर जनरामा बनेको सिनेमाका निर्देशक नचिकेत सामन्त हुन् । निर्माण टिमकाअनुसार सिनेमा बेबी नामकी एक रहस्यमय महिलाको कथामा आधारित छ । उनी बाहिरबाट साधारण जीवन जिउँछिन् तर भित्रभित्रै उनी अन्डरवल्र्डसँग जोडिएर हिंसात्मक र खतरानाक आपराधिक क्रियाकलापमा सहभागि हुन्छिन् ।

ट्रेलरमा उनलाई एक हिटवुमनको रुपमा देखाइएको छ । विगतको एक दर्दनाक घटनाको कारण उनी अपराध, बदला र मानसिक द्वन्द्वको चक्रमा फसिरहेको देखिन्छ । समग्रमा सिनेमाको कथा रहस्य, सस्पेन्स, एक्सन र अप्रत्याशित ट्विस्टहरूले भरिएको निर्माण टिमको दाबी छ।

सिनेमामा हुमा कुरेशी, सिकन्दर खेर, चंकी पाण्डे, सीमा पाहवा, रचित सिंह, विद्या मालवडे, हिमांशु मलिक, मरुधर शेखावत र अरुण कुशवाहलगायत कलाकारको अभिनय रहेको छ ।

Logo