एकेडेमिया इन्टरनेसनल कलेजमा वित्तीय व्यवस्थापन र सूचना प्रविधिसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न

एकेडेमिया इन्टरनेसनल कलेजमा वित्तीय व्यवस्थापन र सूचना प्रविधिसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न

केन्द्रबिन्दु
0
Shares

ललितपुर । ललितपुरस्थित एकेडेमिया इन्टरनेसनल कलेजमा ‘दिगो तथा नवप्रवर्तनकारी वित्तीय व्यवस्थापनका लागि सूचना प्रविधिको संयोजन’ विषयक एक दिवसीय राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ ।

कलेजको अनुसन्धान व्यवस्थापन कक्षको आयोजना भएकाे यस सम्मेलनमा देशभरका प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ता, विद्यार्थी र उद्योग क्षेत्रका विज्ञहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्मेलनको उद्घाटन सत्र परम्परागत प्राज्ञिक गरिमा र सांस्कृतिक विधिअनुसार खादा अर्पण तथा दीप प्रज्वलन गरी गरिएको थियो । कलेजका शैक्षिक प्रमुख विश्व मथेमाले सञ्चालन गरेको उक्त सत्रको अध्यक्षता कलेजका अध्यक्ष बबी प्रधानले गरेका थिए । कार्यक्रममा क्रिस्टोफर न्युपोर्ट युनिभर्सिटी, अमेरिकाका प्रा. डा. ज्ञान प्रधान र ललितपुर महानगरपालिका वडा नं. ७ का अध्यक्ष कुलबहादुर महर्जन प्रमुख अतिथिका रूपमा उपस्थित थिए । त्यस्तै कलेजका क्याम्पस प्रमुख राजेशप्रसाद श्रेष्ठ र बोर्ड सदस्य धर्म महर्जन लगायतका विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति थियो ।

कलेजको इतिहासमा पहिलोपटक आयोजित यस राष्ट्रिय सम्मेलनबारे प्रकाश पार्दै आरएमसी प्रमुख डा. राजन विलास बज्राचार्यले स्वागत मन्तव्य राखेका थिए । उनले उच्च शिक्षा कक्षाकोठाको अध्ययनमा मात्र सीमित नभई वास्तविक संसारका चुनौतीहरू समाधान गर्ने अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्नेमा जोड दिए । एआई, बिग डाटा, ब्लकचेन र फिनटेक जस्ता प्रविधिहरूले वित्तीय क्षेत्रलाई तीव्र गतिमा रूपान्तरण गरिरहेको उल्लेख गर्दै उनले प्रविधिलाई दिगो वित्तीय अभ्याससँग जोड्नु आजको आवश्यकता रहेको बताए ।

उद्घाटन सत्रपश्चात् आयोजित किनोट सत्रमा तीनजना विज्ञहरूले विशेष प्रस्तुति दिएका थिए । क्याम्पस प्रमुख राजेशप्रसाद श्रेष्ठले संस्थागत उत्कृष्टताका लागि एआई, बिग डाटा र फिनटेकको प्रयोगबारे कार्यपत्र प्रस्तुत गरे । त्यस्तै प्रा. डा. जितेन्द्र डंगोलले प्रविधिमा आधारित दिगो वित्त र समावेशी वित्तीय प्रणालीका विषयमा र प्रा. डा. सुवर्ण शाक्यले डिजिटल सुशासन र स्मार्ट वित्तीय प्रणालीमा केन्द्रित रहेर आफ्नो गहन प्रस्तुति दिएका थिए ।

सम्मेलनको दोस्रो चरणमा तीनवटा समानान्तर प्राविधिक सत्रहरू सञ्चालन गरिएका थिए, जहाँ विभिन्न क्षेत्रबाट छानिएका २० वटा शोधपत्रहरू प्रस्तुत गरिए । प्रा. डा. जितेन्द्र डंगोल, बबी प्रधान, डा. दशरथ न्यौपाने, डा. दीपक महत, प्रा. डा. महेश महर्जन र श्रीजन शाक्यले यी सत्रहरूको अध्यक्षता तथा सह-अध्यक्षता गरेका थिए ।

प्रस्तुत गरिएका कार्यपत्रहरूमा विद्यार्थीहरूमा एआईको नैतिक उपयोग, इ-कमर्समा उपभोक्ताको विश्वास, सहकारीहरूको वित्तीय दिगोपना, सेयर बजारमा युवा लगानीकर्ताहरूको व्यवहार र मनोविज्ञान, साइबर सुरक्षा सचेतना, र हरित वित्त जस्ता समसामयिक विषयहरू समेटिएका थिए । तेस्रो सत्रमा भने काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातका लागि रूट फाइन्डिङ एल्गोरिदम र अटोमेटेड हाइड्रोपोनिक खेती प्रणाली जस्ता बढी प्राविधिक र कम्प्युटेशनल अनुसन्धानहरू प्रस्तुत गरिएका थिए ।

कार्यक्रमको समापन तथा विदाई सत्रमा सहभागीहरूले सम्मेलन फलदायी र ज्ञानवर्धक रहेको भन्दै आफ्ना अनुभवहरू साझा गरेका थिए । सो अवसरमा कार्यपत्र प्रस्तोता, सत्रका अध्यक्ष तथा सहजकर्ताहरूलाई कदरपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

Logo