युरो स्कुलद्वारा १८औं ‘चाइना इन माइ आइज पेन्टिङ कम्पिटिसन अवार्ड सेरेमनी’ भव्य रूपमा आयोजना

युरो स्कुलद्वारा १८औं ‘चाइना इन माइ आइज पेन्टिङ कम्पिटिसन अवार्ड सेरेमनी’ भव्य रूपमा आयोजना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । हात्तीगौंडामा अवस्थित युरो स्कुलले १८औं ‘चाइना इन माइ आइज पेन्टिङ कम्पिटिसन अवार्ड सेरेमनी’ भव्य रूपमा आयोजना गरेकाे छ ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपालका लागि चीनका राजदूत झाङ माओमिङ उपस्थित थिए। कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, नेपालस्थित चिनियाँ दूतावासका अधिकारीहरू, बुढानीलकण्ठ नगरपालिकाको शिक्षा शाखाका प्रतिनिधि, वडाध्यक्ष, विभिन्न विद्यालयका प्राचार्य, शिक्षक, अभिभावक तथा प्रतियोगितामा सहभागी १६ विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

‘मेरो आँखामा चीन’ भन्ने विषयवस्तुमा आधारित चित्रकला प्रतियोगितामार्फत विद्यार्थीहरूले आफ्नो सिर्जनशीलता, कला प्रतिभा र चीनप्रतिको बुझाइलाई चित्रमार्फत प्रस्तुत गरेका थिए। आयोजकका अनुसार प्रतियोगिताले कला र शिक्षामार्फत नेपाल र चीनबीचको मित्रता, पारस्परिक सम्मान तथा सांस्कृतिक आदानप्रदानलाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

इन्टरनेशनल ब्याकलोरियट (आईबी) वर्ल्ड स्कुलका रूपमा परिचित युरो स्कुल, हात्तीगौंडाले विश्वदृष्टि भएका, विविधताको सम्मान गर्ने तथा अन्तरसांस्कृतिक बुझाइ भएका विद्यार्थी उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको जनाएको छ। विद्यालयले विगत छ वर्षदेखि आफ्नो अन्तर्राष्ट्रिय भाषा कार्यक्रममा चिनियाँ भाषा समावेश गर्दै कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई चिनियाँ भाषासँगै चीनको इतिहास, संस्कृति, कला, परम्परा र चाडपर्वबारे अध्ययन गराउँदै आएको जानकारी दिएको छ।

कार्यक्रममा विद्यालयले प्रतियोगितामा सहभागी सबै विद्यार्थीको सिर्जनात्मक प्रयासको प्रशंसा गर्दै उत्कृष्ट कला सिर्जनामार्फत भविष्यप्रतिको आशा र कल्पनाशीलताको सन्देश दिएको उल्लेख गरेको छ । साथै, कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने चिनियाँ राजदूत झाङ माओमिङ, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, नेपालस्थित चिनियाँ दूतावास, सहभागी विद्यालय, शिक्षक, अभिभावक, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीप्रति विद्यालयले आभार व्यक्त गरेको छ।

त्यसैगरी, नेपालस्थित भोलिन्टियर चाइनिज टिचर्स होम तथा ‘द एट्थ चाइना इन माइ आइज पेन्टिङ कम्पिटिसन’ का आयोजकप्रति विशेष धन्यवाद ज्ञापन गर्दै १६ विद्यालयका विद्यार्थीबीच सिर्जनात्मक क्षमता अभिवृद्धि र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गरेकोमा प्रशंसा गरिएको छ।

Logo