फिनिक्स कलेजको ‘एलुम्नी मिट-२०२६’ भव्य रूपमा सम्पन्न, छात्रवृत्तिको पनि घोषणा

फिनिक्स कलेजको ‘एलुम्नी मिट-२०२६’ भव्य रूपमा सम्पन्न, छात्रवृत्तिको पनि घोषणा

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । फिनिक्स कलेज अफ म्यानेजमेन्टले आफ्नो वार्षिक ‘एलुम्नी मिट–२०२६’ शनिबार काठमाडौँको नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न गरेको छ। कलेज र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा देशभरका विभिन्न क्षेत्रमा स्थापित कलेजका पूर्वविद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

फिनिक्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद भरत गिरीकाे प्रमुख आतिथ्यमा औपचारिक उद्घाटन गरिएको कार्यक्रममा मध्य-पश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइरालालगायतकाे विशेष उपस्थिति रहेकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथि फिनिक्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष गिरीले पूर्वविद्यार्थीहरूलाई कलेजको “सद्भावना दूत”को संज्ञा दिए। पूर्वविद्यार्थीहरूको तदर्थ समितिलाई विधिवत् रूपमा आधिकारिक रूप दिने घोषणा गर्दै उनले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए। उनले भने, “फिनिक्स नेटवर्कले अब चिकित्सा शास्त्रका सेवा र कार्यक्रमहरू भित्राउने प्रक्रिया अगाडि बढाइसकेको छ। देशकै संवेदनशील र आधारभूत खम्बा मानिने स्वास्थ्य क्षेत्रमा जोडिएर राष्ट्रको सेवामा समर्पित हुने हाम्रो दृढ संकल्प छ।”

कार्यक्रममा मध्य-पश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइरालाले गुणस्तरीय शिक्षाको महत्त्वमाथि प्रकाश पारे । प्रसिद्ध वैज्ञानिक तथा कूटनीतिज्ञ बेन्जामिन फ्रैंकलिनको भनाइ उद्धृत गर्दै उनले भने, “तयारी गर्न असफल हुनु भनेको असफल हुनका लागि तयारी गर्नु हो।”

यदि वर्तमान समयमा कुनै पनि काम वा भविष्यका लागि हामी पूर्ण रूपमा तयार भएनौँ भने जीवनमा सोचेको सफलता हासिल गर्न कठिन हुने तर्फ उनले सचेत गराए । शिक्षा केवल कक्षाकोठा, भवन र परीक्षामा मात्र सीमित नभई सपनाहरूलाई आकार दिने, ज्ञानको सिर्जना गर्ने, र भविष्यका नेतृत्वकर्ताहरू तयार गर्ने थलो भएको उनको भनाइ थियो।

यस अवसरमा फिनिक्स कलेज अफ म्यानेजमेन्टका प्राचार्य प्रा. डा. फत्तबहादुर केसी र युनिभर्सल कलेजका प्राचार्य तथा फिनिक्स कलेजका प्रमुख शैक्षिक निर्देशक डा. शिवदत्त ज्ञवालीले व्यवस्थापन र इन्जिनियरिङ क्षेत्रपछि फिनिक्स नेटवर्कले अब चिकित्सा शिक्षामा प्रवेश गर्न लागेको घोषणा गरे । साथै, पूर्वविद्यार्थीहरूको सम्मानमा उनीहरूको सिफारिसमा आउने नयाँ विद्यार्थीलाई शतप्रतिशतसम्म छात्रवृत्ति दिने घोषणा समेत कलेजले गरेको छ।

यो एलुम्नी मिट केवल एक पुनर्मिलनको अवसर मात्र नभई पूर्वविद्यार्थीहरूको अनुभव आदानप्रदान, पेशागत नेटवर्क विस्तार, उद्योग–शिक्षा सहकार्य प्रवर्द्धन तथा भावी पुस्ताका विद्यार्थीहरूलाई कर्पोरेट क्षेत्रमा अघि बढ्न प्रेरणा दिने एक साझा मञ्चका रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।

Logo