शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता रहेको औँल्याएका छन् । सोमबार पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) को तेश्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा क्षेत्रमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
नेपालमा राजनीतिक परिवर्तनहरु भएपनि पुरानै शिक्षा ऐन अनुसार काम गर्नुपर्ने बाध्यता रहेकाले पुरानो शिक्षा ऐनलाई पनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको मन्त्री श्रेष्ठको भनाइ छ । अहिले पनि शिक्षा ऐन २०२८ अनुसार नै काम गर्नुपर्ने अवस्था रहेकाले पुरानै ठाउँमा उभिएर नयाँ परिवर्तनको महसुस गर्न नसकिने मन्त्री श्रेष्ठको तर्क छ ।
मन्त्री श्रेष्ठले शिक्षा नीतिको सम्बन्धमा उच्चस्तरिय अधिकारसम्पन्न कार्यदल बनाउनु पर्ने आवश्यकता रहेको पनि बताए । यस्तै मन्त्री श्रेष्ठले अहिलेको राजनीतिक निकासको अन्तिम उपाय जनताको जनादेश भएको जिकिर गर्दै संसदबाट समस्याको समाधान ननिस्किने उनको भनाई छ । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले आगामी मंसिरसम्ममा चुनाव हुने र चुनावको नेतृत्व पनि यही सरकारले गर्ने दाबी समेत गरे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने पनि स्पष्ट पारे । सरकार हिजोभन्दा अहिले झनै शक्तिशाली भएको दावी पनि गरे ।





























प्रतिक्रिया