कक्षा १२ को परीक्षा यथाशिघ्र भौतिकरुपमै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन

कक्षा १२ को परीक्षा यथाशिघ्र भौतिकरुपमै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन

केन्द्रबिन्दु
0
Shares

संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिकरुपमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । कोभिडविरुद्धको खोपलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन्। 

समितिले कोभिड खोपको अभावमा परीक्षामा सामेल हुन नसक्ने अवस्था विद्यार्थीहरुमा आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेतसमेत गराएको छ। समितिकी सभापति घर्तीले भनिन्, ‘कोभिडको कारणले मात्रै कक्षा १२ को परीक्षा स्थगित भएको हो। छिटोभन्दा छिटो कोभिड विरुद्धको खोपको व्यवस्था गर्नु पर्यो । विद्यार्थीहरु खोप नलगाउने, छुटने र परीक्षामा सहभागी हुन नपाउने अवस्था आउन दिन हुन्न। यस्ता विषयलाई पनि ख्याल गरेर यो सबै व्यवस्था मिलाएर छिटोभन्दा छिटो परीक्षा लिने दिशातिर सरकार जाओस् भनेर म समितिको तर्फबाट निर्देशन दिन चाहन्छु।’

समितिले टयूसन फि मात्रै लिएर इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई परीक्षा दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ। बैठकमा समितिका सदस्यहरुले कोभिडविरुद्धको खोपका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरेर छिटो कक्षा १२ को परीक्षा संचालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराएका थिए। 

समितिकी सदस्य एवम् प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद विद्या भट्टराईले तत्काल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाई कक्षा १२ को परीक्षा लिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग माग गरिन्। उनले दुवै खोपको व्यवस्था गरी विद्यार्थीहरुलाई जोखिम नहुने गरी परीक्षाको तयारी गर्न पनि सरकारले ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्।

समितिका अर्का सदस्य एवम् सत्तारुढ नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले कोभिडविरुद्धको दुवै डोज खोपको व्यवस्था गरेर छिटो कक्षा १२ को परीक्षा लिने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए। उनले विद्यार्थीहरुले परीक्षा दिन पाउने व्यवस्था मिलाउन सरकारले ढिलाई गर्न नहुने पनि स्पष्ट पारे।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले समितिले दिएको निर्देशन अनुसार कक्षा १२ को परीक्षाको आवश्यक व्यवस्था मिलाउन ढिलाई नगर्ने प्रतिवद्धता व्यक्त गरे । उनले भौतिकरुपमा कक्षा नभएकाले इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले अनलाइन फि मात्रै तिरेर परीक्षा लिने व्यवस्था मिलाउन पनि तत्काल सरोकारवाला निकायसँग छलफल गर्ने समितिलाई जानकारी गराए।

इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले अनलाइन फि मात्रै तिरेर आफूहरुले परीक्षा दिन पाउने व्यवस्था गर्न सरकारसँग माग गरिरहेका छन्।

Skip This
Skip This
Logo