पाँचखालका सार्वजनिक विद्यालयहरूमा सहकर्मीमा आधारित शिक्षा मोडेलमा पढाई हुने

पाँचखालका सार्वजनिक विद्यालयहरूमा सहकर्मीमा आधारित शिक्षा मोडेलमा पढाई हुने

केन्द्रबिन्दु
0
Shares

पाँचखाल नगरपालिकामा सार्वजनिक विद्यालयहरूमा विज्ञान, प्रविधि, डन्जिनियरिङ्, कला र गणित (स्टिम क्लब) मार्फत सहकर्मीमा आधारित शिक्षा मोडेल अन्तर्गत शिक्षा बृद्धि गर्ने उद्देश्यले त्रिपक्षीय सम्झौता गरिएको छ।

विद्यार्थीहरुमा विज्ञान र प्रविधि सिकाइमा रुचि बढाउने, प्रयोगात्मक र खोजमा आधारित सिकाइलाई बढावा दिने र विद्यार्थीहरूलाई स्थानीय समस्याहरू पहिचान गरी विज्ञान र प्रविधिको प्रयोग गरी समाधान गर्न अग्रसर गराउने उद्देश्यले पाँचखाल नगरपालिका, किङ्स कलेज र कारखानाविचमा शिक्षण सिकाइ सम्बन्धी प्रशिक्षण सन्चालन गर्न सम्झौता भएको हो।

त्रिपक्षीय सम्झौतामा पाँचखाल नगरप्रमुख महेश खरेल, किङ्ग्स कलेजका अध्यक्ष नरोत्तम अर्याल, कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्र गौतमले हस्ताक्षर गरेका छन्।

विद्यार्थीहरूले अरूलाई सिक्न मद्दत गरेर आफ्नै शिक्षालाई सुदृढ पार्ने उद्देश्यले सम्झौता गरिएको कार्यक्रम नमुनाको रुपमा पाँचखालका पाँचवटा विद्यालयमा सञ्चालन हुनेछन्।

स्टिम क्लब सेटअप नगरपालिकामा सञ्चालन हुनेछ भने नगरका आजद मावि, बालुवा, पलाञ्चोकी भगवती, श्रीराम मावि, कोशिदेखा, महांकाल माध्यमिक विद्यालय बेलामा सञ्चालन हुने पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले जानकारी दिए।

तोकिएका ठाउँहरूका स्कूलहरूबाट १५ देखि २० जना विद्यार्थीहरूको समूहवाट कारखाना क्लब स्थापना हुनेछ। क्लब सदस्यहरू कारखाना शिक्षकहरुबाट सञ्चालन गरिने तालिममा सहभागि भई स्रोत र साधनको प्रयोग गरी स्टिम क्लब सञ्चालन गर्न सक्षम हुनेछन्। यसका साथै विभिन्न विद्यालयका विद्यार्थीहरुका लागि स्टिम मेला सम्बन्धी कार्यक्रमहरू र डिजाइन प्रतिस्पर्धा गर्नेछन्।

के हो स्टिम क्लब ?
स्टीम क्लब विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितको सर्टकट नाम हो। स्टीम क्लबहरूले सहकर्मीमा आधारित शिक्षा मोडेल पालना गर्छन्। सहकर्मीमा आधारित सिकाउने ठाउँहरु गैरपदानुक्रमिक शिक्षा दृष्टिकोण हो, जहाँ विद्यार्थीहरू आफ्नो र उनीहरूका साथीहरूको शिक्षाको लागि जिम्मेवार हुन्छन्। 

एक शिक्षकको अनुपस्थितिमा विद्यार्थीहरूले शैक्षिक लक्ष्य प्राप्त गर्नका लागि एक अर्कासँग अन्तर्क्रिया गर्न सक्नेछन्। सहकर्मीमा आधारित शिक्षाले विद्यार्थीहरूलाई औपचारिक निर्देशन र आँकलनको अभावमा पनि आफ्नै शिक्षाको लागि उत्तरदायी रहनको लागि प्रोत्साहित गर्दछ। 

सार्वजनिक विद्यालयहरूले यो मोडेलबाट मज्जाले लाभ उठाउन सक्छन्। विद्यार्थीहरूले अरूलाई सिक्न मद्दत गरेर आफ्नै शिक्षालाई सुदृढ पार्छन्। विद्यार्थीहरूलाई साथीसँग कुराकानी गर्दा अधिक सहज र खुला लाग्छ। उनीहरु सामान्य समस्याहरुलाई हल गर्न आफैं सिक्छन्। गरेर सिक्ने प्रकृया भएकोले विभिन्न विधिबाट सिकाई अन्तरको समाधान गर्नका लागि प्रयास रहनेछ र शिक्षामा संलग्न विद्यार्थीहरुमा सकारात्मक सिकाई बढ्छ।

Skip This
Skip This
Logo