पाठ्यपुस्तक छपाईमा जनक शिक्षाको एकलौटीप्रति निजी व्यवसायीको आपत्ति

पाठ्यपुस्तक छपाईमा जनक शिक्षाको एकलौटीप्रति निजी व्यवसायीको आपत्ति


सरकारले सामुदायिक विद्यालयका पाठ्यपुस्तक छपाई तथा तयारीका लागि जनक शिक्षा सामाग्री केन्द्रलाई मात्र जिम्मेवारी दिएको र केन्द्रसँग उक्त क्षमता नभएको भन्दै निजी मुद्रण व्यवसायीहरुले आपत्ति जनाएका छन्।

जनक शिक्षाले नीजि क्षेत्रलाई आफ्नै कार्यालय हातामा मेसिन स्थापना गरी पाठ्यपुस्तक छपाईको काम गर्न बोलपत्र प्रकाशित गरेपछि निजी व्यवसायीहरुको छाता संगठन नेपाल मुद्रण उद्योग महासंघले विरोध गरेको हो । 

‘सामूदायिक बिद्यालयहरुमा पठन पाठन हुने पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको जनक शिक्षाले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने भएपछि नीजि मुद्रण संस्थालाई पाठ्यपुस्तक छपाई तथा तयारीको जिम्मेवारी दिन ठेक्काको आह्वान गरेको छ’ महासंघका विज्ञप्तिमा भनिएको छ, ‘कागज लगायतका मुद्रण लगायतका सम्वद्ध सामाग्रीहरु आफैंले खरिद गरी प्रतिस्पर्धाको नाममा आफ्नै कार्यालय हाताभित्र नीजि क्षेत्रका केही मेसिनहरु राखि पाठ्यपुस्तक छपाई तथा तयारीको जिम्मेवारी दिनु पछाडि अनुचित मनसाय देखिन्छ।’

महासंघका महासचिव युवराज श्रेष्ठद्वारा जारी विज्ञप्तिमा केही ब्यक्तिहरुको शंकुचित मानशिकता, लहड र अनुचित लाभको मनाशयले जवरजस्ती जनक शिक्षालाई आफ्नो क्षमता र हैसियत भन्दा बढिको जिम्मेवारी दिएको उल्लेख छ। यसबाट एकातर्फ बिद्यार्थीले समयमा पाठ्यपुस्तक नपाउने र अर्को तर्फ अर्बौंको लगानीमा संचालित निजी मुद्रण उद्योगहरु कामबिहिन बनिरहेको महासंघले जनाएको छ। 

महासंघले निजी स्तरबाट संचालित मुद्रण उद्योगहरुलाई सम्पूर्ण सामुदायिक विद्यालयका पाठ्यपुस्तक छपाई तथा तयारी र वितरण गर्नका लागि जिम्मेवारी दिन सम्बन्धित सरोकारवाला निकायहरुको ध्यानाकर्षणसमेत गराएको छ।

सरकारले भने ‘गभर्मेन्ट टु गभर्मेन्ट’ (जिटुजी) मोडलमा बिना प्रतिस्पर्धा जनक शिक्षालाई सामूदायिक विद्यालयको पुस्तक छपाईको जिम्मेवारी दिँदै आएको छ। तर केन्द्रले समयमै पुस्तक छाप्न नसक्दा शैक्षिक शत्र सुरु हुँदा पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन्। 

Logo