काठमाडौँ विश्वविद्यालयका एक हजार ४४९ विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ विश्वविद्यालयका एक हजार ४४९ विद्यार्थी दीक्षित हुँदै

केन्द्रबिन्दु
0
Shares

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षान्त मङ्सिर २९ गते गरिने भएको छ। विश्वविद्यालयका रजिष्ट्रार सुबोध शर्माका अनुसार प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षमा हुने कार्यक्रममा भारतीय विश्वविद्यालय सङ्घका महासचिव डा पङ्कज मित्तलको प्रमुख आतिथ्यता रहने छ। 

यसवर्ष दीक्षित हुने विश्वविद्यालयका स्नातक र स्नताकोत्तर तहका गरी एक हजार ४४९ विद्यार्थीमध्ये मानविकी सङ्कायका २३४, शिक्षाशास्त्र सङ्कायका १०४, इञ्जिनियरिङका २९, कानुन सङ्कायका ४०, व्यवस्थापन सङ्कायका ४१९, मेडिकल साइन्सका ५८१ र साइन्सका ४२ रहेको रजिष्ट्रार शर्माले बताए। त्यस्तै १२ जनालाई पिएचडी र ३० जनालाई एमफिलबाट दीक्षित हुने भएको छ।

दीक्षित हुनेमध्ये यसवर्ष महिलाको सङ्ख्या बढी रहेको छ। महिला ७४७ अर्थात् ५१ दशमलव ५५ प्रतिशत र पुरुषको सङ्ख्या ७०२ अर्थात् ४८ दशमलव ४५ प्रतिशत रहेको रजिष्ट्रार शर्माले बताए। दीक्षित हुनेमा विदेशी विद्यार्थी बङ्गलादेश, बेनिन, नेदरल्याण्ड, भारत, श्रीलङ्का, माल्दिभ्स, संयुक्त राज्य अमेरिका र रुसका गरी आठ देशका १२३ जना रहेको विश्वविद्यालयल जनाएको छ।

सो सङ्ख्यासहित काठमाडौँ विश्वविद्यालयबाट २७औँ दीक्षान्त समारोहसम्म आइपुग्दा ३६ हजार ६२४ विद्यार्थी दीक्षित भइसकेको विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले बताए। यसैबीच विश्वविद्यालयले मङ्सिर २५ गते विश्वविद्यालयको केन्द्रिय परिसरमा विविध कार्यक्रम गरी ३०औँ स्थापना दिवस बनाउने भएको छ। सो अवसरमा विश्वविद्यालयले स्थापना कालदेखि नै सेवा गरेका स्व रामानन्द मिश्र र स्व टिकादत्त बराललाई मरनोपरान्त उनीहरूका परिवारलाई केयू–ओरेसन, २०२१ सम्मानपत्र प्रदान गर्ने भएको छ।

Logo