गण्डकी प्रदेश सरकार मेडिकल कलेज चलाउने तयारीमा, अध्ययन सकियो

गण्डकी प्रदेश सरकार मेडिकल कलेज चलाउने तयारीमा, अध्ययन सकियो

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेश सरकारले मेडिकल कलेज सञ्चालन गर्ने भएको छ। २ वर्षअघि आफ्नै विश्वविद्यालय स्थापना गरेकाे गण्डकीले तीन वटा विषयमा स्नातक पढाई थालिसकेकाेमा मेडिकल कलेज सञ्चालनकाे तयारी गरिरहेकाे हाे।

रजिष्ट्रार डा. कैलाश तिमिल्सिनाले भने, ‘अहिले आम मानिसहरुको स्वास्थ्यमा खर्च बढेर गएको छ। सरकारले प्रत्यक्ष प्रदान गर्न सक्ने सार्वजनिक सेवाहरु मध्ये स्वास्थ्य प्रमुख हो,’ उनले भने, ‘व्यक्तिगत खर्चमा कटौती गर्न सरकारी स्वास्थ्य प्रणाली मजबुत बनाउदै लैजानुपर्ने हुन्छ। गण्डकी विश्वविद्यालयले अब तत्कालै शिक्षण अस्पताल सञ्चालन गर्नुपर्छ।’

यसअघि तनहुँको बेलचौतारामा मेडिकल कलेज चलाउने प्रस्ताव गरिएकोमा ठाउँ फेरेर पोखराकै सरुवा रोग अस्पतालमा खोल्दा सहज हुने अध्ययन समितिले जनाएको छ।

प्रस्तावित ठाउँमा ५ सय २९ रोपनी जमिन छ। सबै जग्गा अस्पतालको नाममा ल्याउन जग्गा प्राप्ति प्रक्रिया अघि बढिसकेको सरकारले जनाएको छ। कम्तिमा १ सय रोपनी जग्गा अस्पतालको नाममा आए समस्या नहुने तिमिल्सिनाले बताए।

तर, प्रदेशको आम्दानी कम भएकोले आर्थिक व्यवस्थापनका लागि संघ सरकारसँग समन्वय गर्नुपर्ने सुझाव दिइएको छ। यसबाहेक विदेशी अनुदान ल्याउने वातावरण बनाउन नीतिगत पहल आवश्यक हुने प्रस्ताव छ। हाल प्रदेश सरकार मातहत ११ वटा जिल्लामा १२ वटा अस्पताल छन्। ती अस्पताललाई चाहिने जनशक्ति आफ्नै शिक्षण अस्पतालबाट पूर्ति गर्न सकिने उनले सुनाए।

समितिले सरुवा रोग अस्पताललाई ५ सय शैयाको अस्पताल बनाएर मेडिकल कलेजको रुपमा सञ्चालनकाे सुझाव दिएको छ।

प्रारम्भिक अध्ययनका क्रममा तत्काल ३ सय ५० वेड क्षमताको जनरल अस्पताल बनाउने र भविष्यमा ५० बेडको मुटु, ५० बेडको मृगौला, ५० बेडको क्यान्सर रोग र ५० बेडको संक्रामक तथा सरुवा रोग उपचार केन्द्र बनाउन सकिने प्रस्ताव गरिएकाे छ। बाँकी ३ सय बेडमा विरामी उपचार गरेर आधुनिक प्रादेशिक अस्पताल बनाउन जरुरी रहेको अध्ययन समितिले जनाएको छ। यो अस्पताल निर्माण गर्न ६ अर्ब २ करोड खर्च लाग्ने अनुमान गरिएकाे छ। अस्पताल सञ्चालनपछि वर्षेनि ५० करोडभन्दा बढी आम्दानी गर्न सकिने प्रक्षेपण छ।

Skip This
Skip This
Logo