भनिन्छ, विद्यालय विद्यार्थीको दोस्रो घर हो । शिक्षा मानिसको तेस्रो आँखा हाे। नीति निर्माण तहदेखि देशको शासन प्रशासन चलाउन शिक्षा नै आवश्यक पर्छ। शिक्षाविनाकाे मानिस 'अन्धो' कहलाउँछ। शिक्षाले नै बालबालिकाको सर्वाङ्गीण विकास गराइ सत्मार्गतर्फ उन्मुख गराउँछ। तर, कर्णालीकाे विकट बस्तीका बालबालिका शिक्षा आर्जन गर्ने थलाे विद्यालय अभावमा अन्धकारमा बाँचिरहेका छन्।
यहाँका कतिपय स्थानमा विद्यालय भवन अभावले विद्यार्थीहरू चौरमा बस्न बाध्य छन्। कहीँ बालबालिकाले शिक्षकको मुख नै देख्न पाउँदैनन्। अझ भनौँ दुरदराजका विद्यार्थी त्यो अन्धकारबाट बाहिर निस्कन सकेका छैनन् । ज्ञानकाे ज्याेतिमार्फत बाहिरी दुनियाँमा रमाउन खोजे पनि उनीहरूलाई पढ्न सक्ने वातावरण उपलब्ध छैन। यही कारण कतिपयले बीचैमा पढ्न छोड्छन्। विद्यार्थीलाई पढ्नको लागि जुन वातावरण हुनुपर्थ्याे, त्यो नहुँदा बीचैमा पढाइ छोड्ने विद्यालय जान नमान्ने जस्ता समस्याले उनीहरूको भविष्य अन्धकारतिर धकेलिँदै गएको छ। यसकाे प्रतिनिधिमुलक उदहारण हाे दैलेखको चामुण्डाविन्दासैनी नगरपालिका-५ बस्ताकोटस्थित जनता माध्यामिक विद्यालय।
त्यहाँ न त विद्यालय भवन छ, न त पढ्ने वातावरण नै छ। २०४० सालमा स्थानीय स्रोतसाधनबाट निर्माण भएको याे विद्यालयको भवन भत्किँदा न त नयाँ भवन निर्माण भयो, न भत्केको भवन पुनःनिर्माण हुन सकेकाे छ। स्थापनाकालदेखि अहिलेसम्म भवन बनाउने योजना नपरेको सोही विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक रामशरण रेग्मी बताउँछन् । 'भवन भत्किने अवस्थामा थियो,’ उनले भने, ‘पटक पटक नगरपालिकासँग पनि अनुरोध गर्याैं तर केही भएन। ८ भदाै ०७८ मा परेको अविरल वर्षाले भवन भत्कियो। अहिलेसम्म पुनर्निर्माणमा कसैले चासो देखाएका छैनन्। भवन नहुँदा विद्यार्थीलाई खुल्ला आकाशमुनि पढाउन बाध्य छौँ।’
हावा चले विद्यालय बन्द हुन्छ
८ भदाै ०७८ मा परेको अविरल वर्षाका कारण भवन भत्किएपछि हावा चलेपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेकाे विद्यालयका प्रधानाध्यापक जनक कार्की बताउँछन्। भवन भत्किएको छ, हावा चल्यो, पानी पर्याे भने विद्यालय बन्द गर्नुपर्छ,’ उनले भने, ‘हामीसँग अरू भवन छैनन्। खुल्ला आकाशमुनि पढाउनु पर्ने बाध्यता छ। हावा लाग्दा पानी पर्दा विद्यालय बन्द गर्नुको विकल्प छैन। जसले गर्दा विद्यार्थीको अध्ययन, अध्यापनमा प्रत्यक्ष असर परेको छ।’
राजनीतिक छायाँले विद्यार्थीको भविष्य अन्धकारतिर
विद्यालय अध्ययन अध्यापन गराउने थलो हो । तर, विद्यार्थीलाई अध्यापन गराउनुको सट्टा विद्यालय राजनीतिको अखडा बनिरहेकाे एक स्थानीयको भनाइ छ । यहाँ शिक्षकभन्दा धेरै राजनीतिक दलका नेता रहेकाे उनी बताउँछन्। ५ नम्बर वडामा कांग्रेसले जितेको वडा हो । नगरपालिकाकाे तेतृत्व एमालेले गरिरहेकाे छ। जसले गर्दा प्रत्यक्ष रुपमा विद्यालय राजनीतिक चपेटामा परेको वडा नम्बर ५ का अध्यक्ष नारायणप्रसाद रेग्मी बताउँछन् ।
'भवन निर्माणको लागि पटक पटक नगरपालिका, वडा कार्यालयमा धायाैँ। साेही अनुसार आश्वासन पनि पायाैँ,’ उनले भने, ‘नगरपालिका लगायत सरोकारवालाहरूले हुन्छ हुन्छ मात्रै भने । भवन नहुँदा चौरमै पढाउन बाध्य छौँ।’ ८ भदाै ०७८ काे अविरल वर्षातले क्षति पुगेको विद्यालय भवन निर्माणमा सम्बन्धित निकायको ध्यान जान नसकेको विद्यालयका प्रधानाध्यापक जनक कार्की बताउँछन्।
उनका अनुसार ३८ वर्षअघि स्थापना भएकाे विद्यालयमा अहिलेसम्म भवन निर्माणमा कुनै याेजना परेकाे छैन। 'स्थानीय सरकार आएको चारवर्ष बित्न लाग्यो तर, नगरपालिकाबाट कुनै आशा भएन,’ उनले भने, ‘२०४० सालमा स्थानीय स्रोतसाधनमा भवन निर्माण भयाे तर अहिलेसम्म कसैले सहयोग गरेन। भवनका लागि सबै ठाउँमा हारगुहार गरे पनि कसैले सुनेनन्।’
जनता माध्यामिक विद्यालयमा २ सय २४ जना विद्यार्थी छन् । एक जना बालविकास सहजकर्ता, एक जना राहत शिक्षक, एक अस्थायी र चार जना स्थायी शिक्षक रहेको प्रधानाध्यापक कार्कीको भनाइ छ।
विद्यालय भवन निर्माण गर्न विद्यालय व्यवस्थापन समितिले प्रदेशमा भवन माग गर्न वडा कार्यालयमा जाँदा वडाध्यक्षले सिफारिस गर्न नमानेको उनी बताउँछन्।





























प्रतिक्रिया