सेनाको बख्तरबन्द गाडीले आजराति चक्रपथ परिक्रमा गर्दै

सेनाको बख्तरबन्द गाडीले आजराति चक्रपथ परिक्रमा गर्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले आइतबार अपरान्ह ट्वीट गर्दै सेनाले १९ माघको राति बख्तरबन्द गाडीसहित काठमाडौंको चक्रपथ परिक्रमा गर्ने योजना सार्वजनिक गरे । १० वटा बख्तरबन्द गाडीले आजराति चक्रपथ परिक्रमाको अभ्यास गर्ने भएकाे हाे ।  राति १० बजेबाट सुरु हुने अभ्यास सीतापाइला युद्धकवच गणका ड्राइभरले गर्न लागेका हुन् ।

सेनाको नियमित अभ्यासअनुसारै ती गाडीले चक्रपथको परिक्रमा लगाउने योजना बनेको हो । बख्तरबन्द अर्थात् हातहतियारसहितको सैन्य सवारीसाधनको नियमित अभ्यास हुन लागेको हो ।

योभन्दा पहिला पनि हरेक साता दुुई दिन जस्तो डाइभरहरुले अभ्यास गरिरहने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । “उनीहरू बिहान ५ बजे सीतापाइलाबाट निस्केर चोभार गई ६ बजे फर्किसक्थे । यसले ट्राफिक जाम हुँदैनथ्यो, ”उनी भन्छन्, “अहिले राति अभ्यास गर्न खोज्नुको उद्देश्य यति हो । भ्रम नहोस् भनेर ट्विट गरेका हौं ।”  नियमित भए पनि सो अभ्यासबारे सर्वसाधारणलाई समयमै जानकारी दिने हेतुले सेनाले त्यसबारे सूूचना जारी गरेको जनाएकाे छ ।

मुुलकका आठवटै पृतनाअन्तर्गतका ‘मेकनाइज्ड युनिट’बाट पनि पर्सिपल्ट माघ २१ गते देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको नियमित अभ्यास हुँदै छ । साँझ ५ बजे ६ वटा बख्तरबन्द गाडी कलंकी, सातदोबाटो हुुँदै पाँचखाल पुुगेर राति ८ बजे फर्कने उनले बताए ।

गाडीको अवस्था र आफ्ना साधनको प्रयोगमा चालकको आत्मविश्वास जगाउन पनि सेनाले यसप्रकारका नियमित अभ्यास गर्दै आएको छ । सर्वसाधारण नागरिकलाई आवतजावतमा असहज नहोस् भन्ने ध्येयले रातका समयमा उक्त अभ्यास गर्न लागिएको सेनाले जनाएको  छ ।

 

Logo