नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदको लागि नायिका रेजिना उप्रेतीले शनिबार उम्मेद्वारी दर्ता गरेकी छिन् ।
कलाकार संघमा विगत ८ वर्षदेखि एक कार्यकाल उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्षको हिसाबमा जिम्मेवारी बहन गरिरहेकी रेजिनाले निरन्तर २४ वर्षदेखि नेपाली कला क्षेत्रमा निरन्तर सक्रिय रहेको अनुभवको आधारमा संघको नेतृत्वका लागि उम्मेद्वारी दिएको बताएकी छिन् । अघिल्लो पटकको संघको निर्वाचनमा सर्वाधिक मत ल्याएर उनी विजयी भएकी थिइन् ।
नायिका उप्रेतीसँगै कलाकार मोहन निरौलाले पनि अध्यक्षमा उम्मेद्वारी दिएका छन् । निरौला हालको कार्यसमितीमा मनोनित उपाध्यक्ष हुन् ।
‘विगतमा कलाकारिता तथा सामाजिक क्षेत्रमा राम्रो काम गरेको, कलाकारहरुको हक हितमा काम गरेको र आगामी दिनमा पनि कलाकारको सम्र्बद्धनमा सक्रिय हुने उद्देश्य राखेर उम्मेद्वारी दिएको हुँ’ नायिका उप्रेतीले भनिन्–‘मैले कलाकार संघको लागि के के गर्न सकिन्छ भनेर घोषणापत्र तयार गरेकी छु, निर्वाचन अगाडि सबै कलाकारहरु समक्ष उक्त कुरा राख्नेछु ।’
७० हाराहारी चलचित्रमा अभिनेत्रीको रुपमा काम गरेकी रेजिनाले चलचित्र बरदान पनि निर्माण गरेकी थिइन् । सुरुवाती चरणमा जनचेतनामुलक टेलिसिरियल चेतनाबाट करिअर प्रारम्भ गरेसँगै सामाजिक क्रियाकलापमा सदैव आवद्द रहेको रेजिना बताउँछिन् ।
दर्जनौं म्युजिक भिडियो, सोसल डकुमेन्ट्री र विज्ञापनमा उनले अभिनय गरेकी छिन् । बरदान, चिनो, दुर्गा, आफ्नो मान्छे, अग्निपथ, कर्णविर लगायतका सफल चलचित्रमा उनले काम गरेकी छन् ।
चलचित्र क्षेत्रमा योगदान पु-याए बापत अभिनेत्रीहरुलाई उनको संस्था रेजिना इन्टरटेनमेन्ट र शहिद फिल्म्सको ब्यानरले विगत ४ वर्षदेखि सम्मान गर्दै आएको छ । लागु दुर्व्यसनसम्बन्धी चेतनामुलक अभियानमा पनि उनी सक्रिय भएर काम गरिरहेकी छिन् ।





























प्रतिक्रिया