मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’

केन्द्रबिन्दु
0
Shares

मधेश प्रदेशका महिला कथाकारहरूलाई छोटो–फिल्मको पटकथा लेखनमार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘टेल योर स्टोरी– (मधेश च्याप्टर)’ कार्यशाला सुरु भएको छ।

बुधबारबाट राजधानीमा सुरु कार्यशालाले पुरुषप्रधान फिल्म क्षेत्रमा मधेशका महिलाहरूलाई आफ्नो कथा आफैँ भन्ने अवसरको सिर्जना गर्ने लक्ष्य राखेको छ। कार्यशालाको उद्देश्य महिला सशक्तिकरण तथा सिर्जनात्मक विविधताको समावेशिता रहेको छ।

दुई चरणमा भइरहेको यस कार्यशालाको पहिलो चरण जेठ १६ देखि जेठ २० सम्म सन्चालन भएको थियो, जसअन्तर्गत राखिएको ५ दिने भर्चुअल कक्षामा निवेदनमार्फत छानिएका १७ प्रशिक्षार्थी सहभागी भएका थिए। ती मध्येबाट ९ प्रशिक्षार्थीलाई दोस्रो चरणको कार्यशालाका लागि चयन गरिएको हो। 

जेठ २४ देखि जेठ २९ सम्म सन्चालन हुने दोस्रो चरणको कार्यशालामा प्रशिक्षार्थीहरूलाई नेपालका ख्यातिप्राप्त फिल्मकर्मी तथा कथाकारले कथालेखनका विषयमा सल्लाह तथा मार्गदर्शन प्रदान गर्नेछन्।

मधेशका महिलाका जीवन र अनुभव, साहस र अठोटका कथा प्राय ओझेलमै रहन पुगेका छन् र विरलै फिल्मको पर्दामा उत्रिने मौका पाउँछन्। तसर्थ, पटकथा लेखनका आधारभूत ज्ञान प्रदान गरेर तिनै अनुभवलाई मधेशकै सम्भावना बोकेका महिला कथाकारको आवाजमा छोटो फिल्मको पटकथाको रूप दिनु नै ‘टेल योर स्टोरी’ कार्यशालाको प्रमुख लक्ष्य रहेको छ। 

फिल्म इन्डिपेन्डेन्ट अन्तर्गतको ग्लोबल मिडिया मेकर्सको सहयोग, तथा नेपालस्थित अमेरिकी राजदुतावास तथा शिक्षा फाउन्डेसन् नेपालको सहकार्यमा सन्चालित ‘टेल योर स्टोरी–(मधेश च्याप्टर)’ कार्यशाला महिला कथाकारहरूलाई आफ्ना जीवनुभव पटकथाका रूपमा उतार्नका लागि आवश्यक प्राविधिक ज्ञान प्रदान गर्नमा दत्तचित्त लागेको छ।

कार्यशालाको अन्त्यमा तीन छोटा पटकथा छानिनेछन्, जसलाई मधेशकै फिल्मकर्मीहरूबाट फिल्मका रूपमा विकास गरिनेछ। कार्यशालामा आरतीकुमारी मण्डल, कविता खड्का, किरण शाह, पुनम रौनियार,प्रतिभा झा, पुजा यादव, पुष्पा यादव, रेनुका जिसी र सुष्मा शर्मा सहभागी छन्। 

उनीहरुलाई शिवानी सिंह थारु, सरिता शाह, सम्पदा मल्ल, नविन सुब्बा, मुना गुरुङ, दीपक रौनियार, आन्विका गिरी र अविनाश विक्रम शाहले प्रशिक्षण दिइरहेका छन्।

Skip This
Skip This
Logo