रविना देशराज श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन् । नायक आयुष्मान-आशिर्मान देशराज जोशीकी आमा तथा नायिका प्रियंका कार्कीकी सासू रविना देशराज श्रेष्ठले बिहीबार प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग लगनगाँठो कसेकी हुन् । स्टुआर्ट बेलायती नागरिक हुन् । उनी विश्व वन्यजन्तु कोषमा कार्यरत छन् ।
२०१९ देखि २०२२ सम्म कोषले उनलाई जङ्गलका बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्यका साथ टाइगर्स अलाइभ इनिसिएटिभ लिडरको रूपमा नियुक्त गरेको थियो। यसैका लागि उनी अहिले नेपालमा काम गरिरहेका छन् ।
अब कुरा गरौँ, रविनाको चर्चाको सेलेब्रेटी बैंकरको विहेकोको कुरा चर्चामा आउनु स्वभाविक हो । तर, चर्चा अलि फरक दृष्टिकोणबाट भइरहेको छ । उनको विवाह पछि सञ्जालमा यस विषयमा चर्चा परिचर्चा भईरहेको छ। खासगरी ‘नातिनीकी हजुरआमा भइसकेकी महिलाले बिहे गरेकाे’ भन्दै कतिपयले उनको विवाहलाई स्विकारेका छैनन् । तर रविनाले आफ्नो यो यात्रा छोराछोरीको साथ र समर्थनले थप पूर्णता दिएको बताउँछिन् । उनलाई परिवारको सहयोग र समर्थन भइरहँदा समाजले भने यस विषयलाई सहजरूपमा लिन सकेकाे छैन ।
कतिपयले उनको बिहे नेपाली समाजको लागि पाच्य नभएको बताई रहेका छन् भने कतिपयले त उनलाई ‘मर्ने बेलामा हरियो काँक्रो’ समेत भन्दै सञ्जालमा उडाइरहेका छन् ।
हो, रबिनाको बिहे नेपालीहरूले गर्ने औसत उमेरभन्दा केही बढी हो। उनी पहिले पनि विवाह भइसकेकी नारी हुन् । उनले फेरि विवाह गर्दा हाम्रो समाजका लागि अपवाद हुनसक्ला। तर, सेलिब्रेटी पुरुष कलाकारको प्रौढ विवाह स्विकार्ने समाजले रविना देशराजको विवाह किन नस्विकार्ने ?
१२ वर्षअघि हरिवंश आचार्यको श्रीमतीको मृत्यु भयो अनि उक्त घटनाको डेढ वर्षपछि दश वर्ष कान्छी महिलासँग लगनगाँठो कसे । त्यो बेलामा धेरैले हरिवंशले समाजलाई एउटा परिवर्तनको विकल्प देखाएको र एक विधुवा महिलासँग लगनगाँठो कस्ने साहस जुटाएको भन्दै उनको प्रसंसा गरे । गत वर्ष हरिवंशकै जस्तै जीवन कथामा आधारित फिल्म ‘महापुरुष’लाई धेरैले रुचाए।
त्यस्तै, अर्का चर्चित हास्य कलाकार मनोज गजुरेलले दुई वर्षअघि बुढेसकालमै बिहे गरे। उनको विवाहलाई पनि सहजै रुचाईयो । तर हरिवंश र मनोज गजुरेलको प्रौढ विवाह स्विकार्ने समाजले रविना देशराजको विवाह स्विकार्न सकेका छैनन्। पुरुषप्रधान समाजमा पुरुष नै महिलामाथि हाबी हुने गर्दछन् । पुरुषले पौढ विवाह गर्नु हुने तर, महिलाले गर्न नहुने भन्दै विभेद हाम्रो समाजमा अझै पनि छ।
तर, रविनालाई उनीविरुद्धको अरूको टिप्पणीले कुनै असर गरेको छैन। रबिना तिनै महिला हुन् जसले आफ्नो अविवाहित छोराको एउटी सम्बन्ध बिच्छेद गरेकी महिलासँग विवाह गरिदिएकी थिइन् । समाज र त्यसका रोकछेकका बाबजुद उनले आफ्ना हरेक निर्णयमा ‘खुसी’ रोज्दै आएकी छिन्। समग्रमा, नेपाली समाजमा चुनौती मानिने धेरै काम आफ्नो जीवनमा गर्दै आएकी रविनाले आफ्नो विपक्षमा आएका नकारात्मक टिप्पणीलाई पनि सहजरूपमा लिएको बताउँदै आएकी छिन् ।





























प्रतिक्रिया