काठमाडौँ महानगरपालिकाले गत शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बगान’लाई ५० हजार जरिवाना तिराएको छ ।
महानगरले सरोज खनाल निर्देशित फिल्म बगानलाई फिल्मको पोस्टर टाँसी दृश्य प्रदूषण गरेको भन्दै निर्माण संस्था नेपाली वेबसाइट मिडिया हाउस प्रालिलाई ५० हजार जरिवाना तिराएको हो ।
तर, यसमा फिल्मका निर्माता सुरेश वाग्लेले जानकारीबिना नै पोस्टरलाई महानगरले हटाएर जरिवाना तिराएकोमा असन्तुष्टि पोखेका छन् । ‘बालेनजी आदिपुरूष हिन्दी सिनेमालाई त रोक्नु भयो, नेपाली सिनेमालाई सहयोग गरिदिनु होला । हाम्रो जानकारीविना हाम्रो डिस्टिब्युटरले आफ्नो घरको भित्तामा टालेको पोस्टरलाई महानगरले ५० हजार जरीवाना तिराएछ । महानगर प्रहरी प्रमुख राजु पाण्डेजीले मिडियावाजी गर्नुअघि हामीलाई जानकारी गराउनु भएको भए हामी त्रुटि सच्याउने समय पाउँथ्यौँ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

काठमाडौं महानगरले गत चैत ३० गतेबाट महानगरभित्र सार्वजनिक स्थानमा विज्ञापन गर्दा कुनै पनि पर्चा, पम्पलेट टाँस्न बन्देज गरेको थियो। त्यसो गरेमा न्यायिक समितिले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था निर्देशिकामा उल्लेख छ।
गत शुक्रवारदेखि फिल्म ‘बगान’ देशभरका हलमा प्रदर्शन भइरहेको छ । फिल्ममा निर्देशक खनालसहित करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमीला कार्की, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको अभिनय छ ।




















