डेब्यु फिल्मबाटै मन जितेकी प्रमिला

डेब्यु फिल्मबाटै मन जितेकी प्रमिला

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र ‘बगान’ चौँथो सातामा प्रदर्शनरत् छ। साता बढ्दै गर्दा यसको दर्शक पनि बढेका छन्। दर्शककै ‘वर्ड अफ माउथ’को कारण चौँथो सातामा प्रवेश गरेको ‘बगान’ हेर्न हलमा परिवार नै देखिने गरेका छन्।

दर्शकले चलचित्रमा आमा बनेकी करिश्मासँगै छोरीको भूमिकामा रहेकी नवअभिनेत्री प्रमिला कार्कीको तारिफ गरेका छन्। प्राय दर्शक यी दुवैलाई आफ्नो कथा व्यक्त गरेको भन्दै धन्यवाद दिइरहेका छन्।

नवअभिनेत्री प्रमिलाको कामको तारिफ दर्शकसँगै सेलिब्रेटीले समेत गरेका छन्। प्रिमियरसँगै आयोजित अन्य सोमा चलचित्र हेर्न पुगेका सेलेब्सले प्रमिलाको आत्मविश्वास र कामको प्रसंशा गरेका थिए । 

विशेष प्रदर्शनी हेरेपछि हास्यकलाकार किरण केसीले प्रमिलाले पात्र बाँचेको प्रतिक्रिया दिएका थिए। प्राप्त प्रतिक्रियाले उनि उत्साहित छिन्। दर्शकको माया र अग्रजको आशिर्वादले मेहनत सफल भएको आभाष उनलाई भएको छ। 

‘मैले सुरुआत नै अभिनयमार्फत नै गरेकी थिएँ। अभिनय सिक्न र निरन्तरता दिन नै म बुटवलबाट काठमाडौँ आएकी हुँ’,प्रमिलाले भनिन्, ‘म काठमाडौँ आएर नाट्यकर्मी अनुप बरालसँग अभिनयसम्बन्धी प्रशिक्षण लिनुका साथै दुई नाटकमा काम समेत गरेँ। यद्यपि टेलिभिजन र म्युजिक भिडिओमा सक्रियता वढेको कारण मलाई त्यताबाट चिन्नु हुन्छ।’

फिल्ममा उनले प्राप्तिको भूमिका निर्वाह गरेकी छिन्। जो निडर र आफ्नो आत्मविश्वासले समाजमा अन्य भन्दा फरक छिन्। ‘जस्तो सुकै परिस्थितिसँग लड्ने, परिवर्तनका निमित क्रान्ति गर्न पछाडी नपर्ने,जस्तो स्वभाव प्राप्तिमा छ। त्यो भूमिकालाई मैले आफ्नै बाहिरी जीवनमा समेत महसुस गरेकी छु,’ प्रमिलाले भनिन्,‘म ठूलो पर्दामा देखिएको भन्दा पनि कस्तो संदेश र क्यारेक्टरमार्फत प्रस्तुत हुँदैछु भन्ने मलाई लाग्छ। चलचित्रमा मनोरञ्जनसँगै सामाजिक संदेश पनि हुनुपर्छ भन्ने मलाई लाग्छ।’ 

उनी टेलिभिजनमार्फत पनि महिला शसक्तिकरणका विषयमा आवाज उठाइरहेकी थिइन्। सिनियर र अनुभवी कलाकारसँग काम गर्दा सुरुमा केही असहज जस्तो महसुस भए पनि काम गर्ने क्रममा त्यस्तो नभएको उनको अनुभव छ। 

‘म सम्पूर्ण सिनियर कलाकारको व्यक्तित्वसँग प्रभावित थिएँ। तर,काम गर्दा मैले क्यारेक्टर बाँचे,उसकै अनुसार प्रस्तुत भएँ। मलाई उहाँहरुले सहजता दिनुका साथै सुझाव पनि दिनुभयो’, प्रमिलाले भनिन्। म्युजिक भिडिओमार्फत सुन्दरता प्रस्तुत गरेकी प्रमिला फिल्ममा अभिनयको सुन्दरता प्रस्तुत गरेकी छिन्। उनी आफ्नो पात्रमार्फत् युवालाई सिक्ने र बुझ्ने मौका मिल्ने बताउँछिन्।

चौँथो सातामा प्रवेश गरेको चलचित्र प्राप्त सो हाउसफुल हुनुका साथै उच्च अकुपेन्सीका साथ प्रदर्शन भइरहेको वितरक करण श्रेष्ठले जानकारी दिए। ‘बगानले दर्शक तान्दा हामी मात्र नभई सम्पूर्ण उद्योग नै खुसी छ। किनकि नेपाली चलचित्र चल्दा सबैलाई फाईदा छ’,वितरक श्रेष्ठले भने,‘यो चलचित्र पश्चात विदेशी ठूला चलचित्र पनि आए। यद्यपि दर्शकको साथ दिनुभएकै कारण अहिलेसम्म हाउसफुलका साथ प्रदर्शनरत् छ।’

अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेका चलचित्र ‘बगान’मा करिश्मा मानन्धर,आकाश श्रेष्ठ,प्रमिला कार्की,नीर शाह,बसुन्धरा भुषाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ। अभिनेत्री कार्कीले यही चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन्।

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो। ‘बगान’का निर्माता तथा गीतकार सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन्। यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स.तथा रेनिश फागोको कलर करेक्सन रहेको छ।

ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ। हरि लम्साल र सुवास भुसालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त,सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ। यसको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र मोफसलमा एफडी कम्पनीले गरिरहेको छ।

Skip This
Skip This
Logo