नेपथ्य जापान श्रृंखलाः फुकुओकामा आजसम्मकै ठूलो नेपाली जमघट

नेपथ्य जापान श्रृंखलाः फुकुओकामा आजसम्मकै ठूलो नेपाली जमघट

केन्द्रबिन्दु
3
Shares

राजधानी टोकियोमा कन्सर्ट सकेर जापानकै अर्को सहर फुकुओका आइपुगेको नेपथ्य टोलीले शनिबार बेलुकी यहाँ पनि दर्शकबाट उत्तिकै न्यानो हार्दिकता पाउन सफल भएको छ । 

पुराना मन्दिर, समुद्री किनार र अत्याधुनिक सपिङ मलहरुले भरिएको सहरका रुपमा चिनिने फुकुओकामा पछिल्लो समय नेपालीहरुको संख्या झण्डै दस हजार पुगेको अनुमान गरिन्छ ।

‘हालसम्म यहाँ आएका नेपालीहरुको ठूलो भेला भनेकै छ सय मानिसको उपस्थिति थियो,’ कन्सर्ट आयोजक टोलीका प्रकाश थापा भन्छन्, ‘त्यस हिसाबले शनिबार नेपथ्य कन्सर्टमा उपस्थित १२ सयभन्दा बढी दर्शकको संख्या यो सहरमा आजसम्मकै सबैभन्दा ठूलो नेपाली जमघट हो ।’

त्यस साँझ तोकिएको समयमै छ बजे सिभिक हलका ढोकाहरु खुला गरिएका थिए । बेलुकी ठीक सात बजे कन्सर्ट सुरु हुनेबित्तिकै सबैभन्दा पहिले ‘सा कर्णाली’ र ‘मै मरि जाउँला’ को म्यूजिक भिडियो प्रस्तुत गरियो । त्यसपछि मञ्चमा उपस्थित नेपथ्य टोलीले ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट दर्शकसँग पहिलो साक्षात्कार गर्यो । 

04 Nepathya frontman Amrit Gurung in action in Fukuoka. Photo - Dipit Raz - nepalaya1691985146.jpg

त्यो क्रमलाई ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरि’, ‘लामपाते सुरती’, ‘चरि मर्यो’, ‘जोमसोमे’ हुदै ‘शिरफूल’ ले निरन्तरता दिएको थियो । त्यसपछि गायक अमृत गुरुङले नेपालीहरु विदेशीने परम्पराका बारेमा दर्शकसँग चर्चा गर्न चाहे । 

‘ठूलो संख्यामा युवा पुस्ता बाहिरिने क्रमले गर्दा अहिले नेपाली समाज एकखाले शून्यतातर्फ अघि बढ्दै गइरहेको छ,’ उनले थपे, ‘कुनै समय यसैगरि बाहिरिने परम्परा सुरुगरेका लाहुरेहरुले भने उतिबेला फर्केर आउँदा उताबाट मिठा मिठा गीतहरु पनि बोकेर ल्याउने चलन थियो।’

त्यसपछि अमृतले गोर्खा फौजले उतिबेलै भित्र्याएको गीत गाएर सुनाएः

‘नैनताल नैनताल, घुमिआयो रेल
आँखामा लाउने कालो गाजल, बुलबुलेमा तेल’

कन्सर्टमा उपस्थित दर्शकमध्ये काठमाडौं घर भएका अजित सबैभन्दा पहिले हलभित्र प्रवेश गरेका थिए ।

‘नेपालमै रहँदा पनि म नेपथ्यको कन्सर्ट हेर्न पोखरा पुग्ने गर्थें,’ अजित भन्दै थिए, ‘अहिले फुकुओकामै ब्याण्ड आइपुग्दा झनै रमाइलो लागिरहेको छ ।’

अन्त्यतिर सँधै झैं श्रोताले सर्वाधिक मनपराएको ‘रेशम’ र ‘तालको पानी’ गाइरहँदा  नृत्यरत दर्शकहरुको उत्तेजना चरम विन्दुमा पुगेको थियो । त्यसलगत्तै ‘रातो र चन्द्रसूर्जे’ गाउने बेलामा त्यो पारो अझ माथि उक्लियो । हलभरि जताततै राष्ट्रिय झण्डा हल्लिरहेका थिए । त्यसै क्रममा एकजना दर्शकले हातमा भएको झण्डा अमृततिर फ्याँके । त्यो झण्डा उठाएर अमृतले बोलेको संवादले एकछिन हलभरि सबैलाई भावुक बनाएको थियो ।

‘हाम्रा पुर्खाहरुले धेरै वलिदान दिएर यो झण्डा प्राप्त गरेका हुन्,’ उनले त्यो झण्डालाई ढोगेर ओढ्दै अनुरोध गरे, ‘यस्तो महत्वपूर्ण चिजलाई भुइँमा खस्नेगरि फाल्ने वा यसको अवमूल्यन हुने गतिविधि कहिल्यै नगरौं ।’

06 Fukuoka Audience cheering Nepathya at the Civic Hall. Photo - Dipit Raz - Nepalaya1691985148.jpg

त्यस क्रममा दर्शकले ठूलो तालीका साथ अमृतका भनाइप्रति समर्थन जनाएका थिए । यसैबीच जापानी नागरिकहरु माझ पनि नेपथ्य कन्सर्टका चर्चा विस्तार हुन थालेका छन् ।

‘दर्शकहरुलाई मनोरञ्जनले भरिपूर्ण बनाउँदै सम्मोहनमा बाँधेर राख्नसक्ने उर्जा नेपथ्यमा गजबको देखिएको छ,’ नेपाली भाषाका अध्येता हारोहुतो नोजुले उनको फेसबुक पोष्टमा उल्लेख गरेका छन्, ‘यो जिन्दगानी' गीत गाइरहँदा मैले आँसु थाम्न सकिन त्यसैगरि 'गाउँ गाउँबाट उठ' अनि 'रातो र चन्द्रसूर्जे' गाइरहँदा अन्य दर्शकसँगै म पनि उफ्रिरहेको थिएँ ।’ 

फुकुओकामा आजसम्मकै ठूलो नेपाली जमघट

त्यसैगरि जापानमा श्रृंखलावद्ध कन्सर्ट गरिरहेको नेपथ्यका बारेमा नेपालस्थित जापानी राजदूतावासले समेत आफ्नो सामाजिक सञ्जालमा पोष्ट राखेको छ । ‘फुकुओकामा नेपथ्य कन्सर्ट भब्य रुपमा सम्पन्न भएको छ,’ आयोजक टोलीका थापा भन्छन्, ‘यो कन्सर्ट हेर्नका लागि हिरोसिमा र नागोयादेखिका दर्शक फुकुओका आइपुगेका थिए ।’

Logo