‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलले अमेरिकामा चलचित्र ‘भूठान’ बनाउने भएका छन्। पौडेलले नयाँ चलचित्रको पोस्टर र नाम सार्वजनिक गरेका छन्। नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा कलाकार हरिवंश आचार्य छन्।
आचार्यसँगै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन तथा विमल सुवेदी अनुवन्धित भएका छन्। चलचित्रमा हलिउडका एक लोकप्रिय कलाकारलाई पनि अनुवन्ध गर्न लागिएको तर हलिउडमा चलिरहेको फिल्मकर्मीहरूको आन्दोलन भर्खरै मात्र सकिएकोले केही समयमा टुंगो लाग्ने निर्मातामध्यका एक राजेन्द्र ठकुराठीले बताएका छन्।
राजेन्द्र ठकुराठी हलिउड सिनेमाका एक प्रख्यात नाम हुन्। उनले अस्कर एकेडेमी अवार्डमा छानिएकासहित ५० भन्दा बढी हलिउडका चलचित्रमा सहकार्य गरिसकेका छन्। भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र जीवन यात्राको कथा समेटेर बन्न लागेको यस चलचित्र ‘भूठान’ सन् २०१९ मा वुसान फिल्म फेस्टिभलको स्क्रिप्ट पिचिङमा समेत छानिएको थियो।
‘भूठान’का निर्माता अविरल थापाले यो चलचित्र विश्वबजारको लागि बनाउन लागिएको भन्दै अन्तर्राष्ट्रिय चलचित्रको भीडमा यसले अलग्गै पहिचान कायम गर्नेमा विश्वस्त रहेको बताए। कार्यकारी निर्माता एल.एन अधिकारी र अर्का निर्माता अमिताभ जोशीका अनुसार विश्वभरका अधिकांश प्लेटफर्महरूमा र सिनेमा हलहरूमा हलिउडकै वितरकको संग्लग्नतामा यो चलचित्रलाई प्रदर्शन गरिनेछ।
चलचित्रकी कार्यकारी निर्माता कौशिला खनालले भुटानी शरणर्थीको कथा र संवेदनालाई लिएर लामो समयदेखि मिहिन ढंगले लेखक एवं निर्देशक पौडेलले काम गरिरहेकाले आफू सिनेमामा जोडिएको बताइन्।
यो चलचित्रमा सन् २०१७ मा हलिउडको ला ला ल्यान्ड चलचित्रमार्फत अस्कर अवार्ड जितेका निर्माता स्टार झाउ पनि एसोशियट निर्माताकोे रुपमा जोडिएका छन्।
चलचित्रको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी, अमिताभ जोशी र चलचित्र बुलबुलकै निर्माता अविरल थापा रहनेछन्। कार्यकारी निर्मातामा एल. एन अधिकारी र कौशिला खनाल कर्माचार्य छन्। शैलेश मैनाली, दीपक दस्नामी, मनोरथ खनाल, रविन पोख्रेल, प्रदीप शर्मा (बडाईं), राजु पौडेल, संजीव भार श्रेष्ठ, नवराज पराजुलीको सहनिर्माण रहनेछ।
सम्पूर्ण छायांकन अमेरिकाको ओहायो राज्यमा चलचित्र नेपाली एवं अंग्रेजी भाषामा निर्माण हुनेछ। चलचित्रको छायांकन सन् २०२४ को अन्तसम्म सकेर सन् २०२५ मा प्रदर्शनमा आउनेछ। बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ। चलचित्रलाई अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गर्नेछ । साथै अमेरिकाकै डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन्।





























प्रतिक्रिया