नेपथ्यको नयाँ गीत ‘पचासै वर्षमा’ सार्वजनिक

नेपथ्यको नयाँ गीत ‘पचासै वर्षमा’ सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

पचास वर्षको अन्तरालमा मानिसले के कस्ता परिवर्तन देख्छन् ? हाम्रो जीवन, समग्र समाजदेखि प्रविधिसम्मले ल्याएका फरक भोगाइलाई कसरी वर्णन गर्ने? यसको लामो व्याख्या हुनसक्छ।

लोक रक ब्यान्ड नेपथ्यले भने एउटा गीत र त्यसको भिडियोमा आफूले बाँचेको यस कालखण्डको छोटो चर्चा गर्ने प्रयास गरेको छ।

ब्यान्डको आजै सार्वजनिक गरेको गीतको मुखडाले भन्छ- 

‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’

‘गाह्रै भो इमानको मान्छे भेटिन’

सामाजिक विसङ्गतिमाथि कटाक्ष गर्दै अगाडि बढेको गीतले अन्तिममा भने,‘अझै पनि इमान जमान भएका मानिस भेटिन सक्छ’ भनेर आशा पनि दर्शाएको छ। यस गीतको प्रसङ्ग झन्डै ६ वर्षअघि सुरु भएको नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ सुनाउँछन्।

‘म पचास वर्ष पुगेको बेला तनहुँका अनिल अधिकारीले मलाई एउटा गीत सुनाए । त्यसमा भएका शब्दमध्ये दुई लाइन रमाइलो लाग्यो। त्यस परिकल्पनालाई विस्तार गर्दै मैले अन्यत्र सुनेका टुक्का, आफैँले लेखेका केही हरफ मिसाउँदै अगाडि बढाएँ। केही वर्षसम्मै लगाएर परिमार्जन गरेपछि गीत यस रूपमा उभिएको हो।’

आफ्ना सिर्जनामा नयाँ–नयाँ प्रयोग रुचाउने अमृतले यस गीतको बीचमा मन्त्र पाठको भावना पनि समेटेका छन्। पछिल्लो समय नेपथ्यका अन्य गीतजस्तै यस गीतको रेकर्डिङ पनि नेपालयकै कालिकास्थानस्थित स्टुडियोमा गरिएको हो। त्यसका लागि प्राविधिक हिसाबबाट साउन्ड इन्जिनियर इमनविक्रम शाहले सघाएका छन्।

गीतलाई नवीन जोशीले म्युजिक भिडियोका रूपमा ढालेका हुन्। नेपथ्यको सर्वाधिक चर्चितमध्ये एक ‘रेशम’ गीतको म्युजिक भिडियो दुई दशकअघि बनाएका नवीनले ब्यान्डका लागि तयार पारेको यो दोस्रो म्युजिक भिडियो हो।

नेपालको विज्ञापन क्षेत्रका परिचित डिजाइनर–निर्देशक नवीन सन् २००२ देखि ब्यान्डसँगको सहकार्यमा छन्। नेपथ्यका पोस्टर डिजाइन लगायतका सिर्जनामा नवीनको संलग्नता रहँदै आएको छ।

‘पचासै वर्षमा’ को म्युजिक भिडियोमा अखबारका कटिङहरूमार्फत नेपथ्य ब्यान्डको यात्रालाई पनि देखाइएको छ। ‘नेपथ्यका नयाँ र पुराना झलकहरूलाई टेलिभिजन प्रविधिको विकास क्रममा समेट्दै परिवर्तनशील समयको विम्बका रूपमा प्रस्तुत गरेको छु,’ नवीन भन्छन्, ‘डब्बा आकारको टेलिभिजनको युगबाट सुरु भएको यात्रा पातलो हुँदै गएको स्क्रिन र अहिले प्रत्येकका हात–हातमा मोबाइल फोनबाट देखिने भिडियोमा सम्म लगेर जोडेको छु।’ 

नेपथ्यको एघारौँ एल्बमका लागि तयारी चलिरहेको बेला ब्यान्डले यो नयाँ गीत सार्वजनिक गरेको हो। पालैपालो गरेर गीत सार्वजनिक गर्दै जाने नीतिअनुसार गत वर्ष यसै एल्बमको ‘भटभटे’ गीत सार्वजनिक गरिएको थियो। 

Skip This
Skip This
Logo