रेखा थापा जस्तै बोल्ड चलचित्रमा अभिनय गर्न चाहने मैथिली रानी ‘मेनुका’ [फाेटाेफिचर]

रेखा थापा जस्तै बोल्ड चलचित्रमा अभिनय गर्न चाहने मैथिली रानी ‘मेनुका’ [फाेटाेफिचर]


‘मैथिली रानी’ उर्फ मोडल मेनुका माझी पछिल्लोसमय नेपाली सांगीतिक क्षेत्रमा निकै व्यस्त कलाकारका रुपमा परिचित छिन् । मेनुका दर्जनौं मैथिली भाषाको गीतमार्फत आफ्नो जादु छर्न सफल भइसकेकी छिन् । त्यसकारण पनि मैथिली भाषाको गीतमा उनले आफूलाई रानी नै सावित गरिसकेकी छिन् । दिनमै २/३ वटासम्म म्युजिक भिडियोको सुटिङ गर्ने उनी हाल सांगीतिक यात्राका लागि देश-विदेश यात्रामा पनि निस्किरहन्छिन् । अहिले पनि उनी कतारमा छिन् । 

मैथिली भाषाको गीतमा मेनुकाले आफूलाई रानी नै सावित गरिसकेकी छिन् ।

अधिकांश मैथिली, थारु, राजवंशी, भोजपुरी र नेपाली  भाषाको म्युजिक भिडियोमा काम गरिसकेकी मेनुका स्टेज शोकी ‘सुपर मोडल’को रुपमा चर्चित छिन् । मैथिली भाषामा मात्रै डेढ सयभन्दा बढी म्युजिक भिडियोहरुमा काम गरिसकेकी मेनुका नेपाली भाषामा पनि २५ भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । अघिल्लो वर्ष मैथिली भाषाको उत्कृष्ट नायिकाको अवार्ड र वर्ष २०२२ को निम अवार्डमा पब्लिक च्वाइस अवार्ड जितेकी मेनुकाले नेपाली चलचित्र बिए पास, कृष्णलिला, क्विन, प्रेम पूजा र प्रपञ्चलगायतमा अभिनय गरिसकेकी छिन् ।

वि.सं. २०५२ को भदौ २० गते प्युठान जिल्लामा जन्मिएकी मेनुकाको बाल्यकालदेखि नै कलाकार बन्ने सोख थियो । बाल्यकालमा अरु साथीहरु डाक्टर, इन्जिनियर बन्छु भन्दा आफू भने कलाकार नै बन्छु भनेर भन्ने मेनुका आफ्नो गृहकार्य गर्ने कपिमा पनि कलाकार नै बन्छु भनेर लेख्ने गर्थिन् । उनलाई परिवारको पनि साथ मिल्यो । केहीसमय पूर्वाअञ्चल क्लबबाट नृत्य सिकेकी उनी जस्तोसुकै अभिनय पनि एकपटक देखेपछि दुरुस्तै गर्ने प्रतिभा राख्छिन् । स्नातक तहमा अध्ययनरत उनले एक्टिङ भने वरिष्ठ कलाकार निर शाहसँग सिकेकी हुन् । 

बाल्यकालमा मेनुका आफ्नो गृहकार्य गर्ने कपिमा पनि कलाकार नै बन्छु भनेर लेख्ने गर्थिन् ।

७२ सालको महाभूकम्पपछि मेनुका नेपाली कलाकारिता क्षेत्रमा निरन्तर लागिरहेकी छिन् । हाल काठमाडाैंमै बसेर नृत्य र अभिनय गर्छिन् । मध्यम पारिवारिक पृष्ठभूमि भएकी मेनुकाको बुवा अवकास प्राप्त नेपाल प्रहरी हुन् भने आमा सक्रिय राजनीतिमा छिन् । पाँच जनाको परिवार भएकी मेनुका परिवारको जेठी छोरी हुन् । उनीपछि एक भाई र एक बहिनी पनि छन् । त्यसकारण पनि उनको काँधमा जिम्मेवारी छ । तर, उनी संघर्षशिल छिन् । मनोरञ्जन क्षेत्रमा स्थापित भइरहन निकै चुनौती रहेको बताउने मेनुका आफ्नो रुचिको क्षेत्रमा लागेको कारण जस्तोसुकै चुनौतीहरुलाई व्यवस्थापन गर्न पनि माहिर छिन् । 

सानै उमेरदेखि नायिका रेखा थापाबाट प्रभावित भएको बताउने मेनुका आफूलाई रेखा थापाले जस्तै बोल्ड र एक्सन नेपाली फिल्महरुमा खेल्ने रुचि भएको बताउँछिन् । जस्तोसुकै विधामा पनि अभिनय गर्न सक्षम मेनुका नेपाली एक्सन फिल्मका लागि अफर आएमा नाई नभन्ने बताउँछिन् । केही समयअघि मात्रै नेपाली सांगीतिक क्षेत्रको चम्किलो ताराका रुपमा उदाएकी गायिका समिक्षा अधिकारीको गीत ‘शोक’मा अभिनय गरेकी मेनुका अर्का चर्चित भाइरल गायक दुर्गेश थापाको गीत ‘कमर लप लप करे’मा मा पनि देखिसकेकी छिन् ।

जस्तोसुकै विधामा पनि अभिनय गर्न सक्षम मेनुका नेपाली एक्सन फिल्मका लागि अफर आएमा नाईं नभन्ने बताउँछिन् ।

साथै नेपालकै चर्चित गायक/गायिका प्रमोद खरेल, मेलिना राई र मिलन अमात्यका थुप्रै गीतहरुमा अभिनय गरिसकेकी मेनुका अब भने नेपाली चलचित्रहरुमा अभिनय गर्ने सोच बनाएर अघि बढेको बताउँछिन् ।

मोडल माझी मैथिली हुँदै नेपाली भाषाको गीतपछि अब भने राम्रो स्क्रिप्टसहितको नेपाली चलचित्रको पर्खाइमा छिन् । जस्तोसुकै अभिनय पनि सहजै उतार्न सक्ने खुबी बोकेकी मेनुका नेपाली चलचित्रमा आफूले गर्न धेरै बाँकी रहेको बताउँछिन् ।

 

 

 

 

Logo