चलचित्र ‘रङ्गेली’ भारतमा हिन्दी भाषामा रिलिज हुने

चलचित्र ‘रङ्गेली’ भारतमा हिन्दी भाषामा रिलिज हुने

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। फागुन २५ रिलिज भई प्रदर्शनरत नेपाली फिल्म ‘रङ्गेली’ भारतमा हिन्दी भाषामा पनि रिलिज हुने भएको छ। युसुफ शेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले यसको भारत वितरणको लागि अधिकार लिएको छ ।

एन मुभिज बलिउडका सफल ‘हनुमान’, ‘पेज ३’, ‘मलामाल वीक्ली’, ‘कर्पोरेट’, ‘ट्राफिक सिग्नल’, ‘जन्नत’, ‘न्युटन’ जस्ता फिल्महरू वितरणको अनुभव लिएको कम्पनी हो । यो कम्पनीले पर्सेप्ट पिक्चर कम्पनी र भारतका अन्य प्रमुख प्रोडक्सन हाउसहरूमा काम गर्दै आएको छ ।

एन मुभिज र जनता सिनेमाले विश्वका ८० भन्दा बढी देशहरूमा चलचित्र वितरण गर्छन्। रङ्गेली भने भारतका करिब एक सय स्क्रिनमा रिलिज हुने कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए। उनले हाल यसको हिन्दी अनुवादको काम भइरहेको र छिट्टै भारतमा रिलिज हुने मिति सार्वजनिक गर्ने बताए । यसको हिन्दी डबिङको सबै काम मुम्बईमा हुने खतिवडाले बताए।

यो फिल्म नेपाली भाषामा हाल अमेरिकामा समेत प्रदर्शनमा आइसकेको छ। अमेरिकामा हाउसफुल दर्शकबाट प्रदर्शनको सुरुवात भएको निर्देशक अर्जुन सुवेदीले बताए। त्यस्तै, क्यानडा, जापान, कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा पनि चलचित्र प्रदर्शनको नजिक छ।

प्रदर्शनको दोस्रो सातामा आइपुग्दा रङ्गेलीले उल्लेखनीय रूपमा दर्शक पाइरहेको छ। दोस्रो साताको शनिबार प्रायः हलमा दर्शकको चाप देखिएको निर्देशक अर्जुन सुवेदीले बताए।

‘रङ्गेली’ मा दयाहाङ राई र मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ। यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ।

Logo