‘पुजार सार्की’मा मेघराज खत्री बन्दा यस्ताे देखिए पल शाह

‘पुजार सार्की’मा मेघराज खत्री बन्दा यस्ताे देखिए पल शाह

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। पछिल्लो समय नेपाली चलचित्र जगतमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह तीन नायकको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’को चर्चा भइरहेको छ । यसैबीच निर्देशक दिनेश राउतले अभिनेता पल शाहको पात्र चिनाउने फोटो सार्वजनिक गरेका छन् । प्रदीप खड्का र आर्यन सिग्देलको पात्र कस्तो हुन्छ भन्ने यसअघि नै सार्वजनिक भइसकेको थियो ।

निर्देशक राउतले पलको नाम ‘मेघराज खत्री’ रहेको जनाउँदै पात्र परिचय दिने फोटो सार्वजनिक गरेका छन् । फोटोमा शाह काँधमा बन्दुक बोकेर नदी किनारामा हिँडिरहेका देखिन्छन् । शिरमा भादगाउँले टोपी लगाएका उनले बाहुला नभएको कोट, कमिज र पाइन्ट लगाएका छन् । फोटोले उनी सामाजिक क्रान्तिको लागि हतियार उठाउन बाध्य भएको युवकको परिचय दिएको छ ।

निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । राउतले केही दिनमा सो चलचित्रको आधिकारीक रिलिज मिति तोक्ने जनाएका छन् । यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र प्रकाशुमा सहकार्य गरेका थिए । महत्त्वाकाङ्क्षी चलचित्र ‘पुजार सार्की’को कास्की जिल्लाको कास्कीकोमा छायाङ्कन भइरहेको छ ।

चलचित्रमा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । बराइलीले यसअघि चलचित्र ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन् । साथमा, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ । चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्दैछन् ।

राजेश श्रेष्ठको डिओपी रहने पुजार सार्कीलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ गर्नेछन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरले गर्नेछन् ।

हिमाल केसीले द्वन्द्व निर्देशन गर्ने पुजार सार्कीका मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् भने राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन् । यो चलचित्र किङ्गडम नेटवर्कको ब्यानरमा बन्नेछ भने आरआर फिल्मसले वितरण गर्नेछ ।

Logo