विप्लव प्रतीकले ल्याए हाइकु संग्रह ‘शाडेनफ्रोएडा’

विप्लव प्रतीकले ल्याए हाइकु संग्रह ‘शाडेनफ्रोएडा’

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । लेखनका विविध विधामा कलम चलाउँदै आएका कवि विप्लव प्रतीक अब हाइकु संग्रह लिएर उपस्थित भएका छन् । उनको नयाँ पुस्तक ‘शाडेनफ्रोएडा’ शनिबार साहित्यिक जमघटका बीच राजधानीमा विमोचन गरिएको छ ।

संगीतकार न्ह्यु बज्राचार्य, अभिनेता सुनिल थापा र सांगीतिक अभियन्ता रिन्छेन योञ्जनलाई पुस्तक हस्तान्तरण गरेर लेखकले आम पाठकहरुमाझ यसलाई पस्केको घोषणा गरेका हुन् ।

समारोहको सुरुवातै विप्लवले उपस्थितहरुको स्वागतमा रचना गरेको हाइकु सुनाएर गरे । पुस्तकमा जापानबाट उत्पन्न विधा हाइकुले नेपाली कवि विप्लवका मर्महरु समेट्दै अघि बढेको छ भने यसले दर्दको काव्यिक अभिव्यक्तिबाट मिल्ने सन्तुष्टि अर्थात् जर्मनीको ‘शाडेनफ्रोएडा’लाई आवरणमा राख्दै फराकिलो दायरामा विस्तार हुन खोजेको छ ।

कविता संग्रह, गीत, उपन्यास, नाटक, निबन्ध, पत्रकारिता, सिनेमा, वृत्तचित्र, अनुवाद र विज्ञापनका क्षेत्रमा आफ्ना पदचापहरु छाड्दै आएका विप्लवले सूक्ष्म काव्यिक अभिव्यक्ति मानिने हाइकु संग्रह पहिलोपटक पाठकहरु माझ प्रस्तुत गरेका हुन् ।

‘सन् २००६ तिर म यो विधासँग नजिकिएको हुँ,’ समारोहमा विप्लवले भने, ‘कविता सुनाउन भक्तपुर गएका बखत ख्यालख्यालमै लेखेको एउटा हाइकुले मलाई यहाँसम्मको यात्रा गराएको हो ।’

तीन हरफमा जम्मा १७ अक्षर भित्र जीवन र दर्शनको उथलपुथललाई उतार्नुपर्ने यो माध्यमले शब्दको किफायत गर्दै सशक्त अभिव्यक्ति पस्कन सिकाउने लेखकले बताए । यस पुस्तकका अक्षरहरु कम्प्युटरका लिपि नभइ स्वयं विप्लवकै हस्ताक्षरबाट मुद्रित भएकाले पाठकले त्यसको रसास्वादन पनि गर्न पाउनेछन् ।

‘हाइकुको किताबले बजारलाई खासै आकर्षित नगर्ला भनेर मैले निजी संग्रहमै सीमित राखेको थिएँ,’ विप्लवले थपे, ‘तर, बजारलाई हेरेर नभइ कृतिको आधारमा प्रकाशन गर्ने तर्कका साथ पब्लिकेसन्स नेपालयका सम्पादक तथा प्रकाशकहरुले तत्परता देखाएकोमा म आभार प्रकट गर्दछु ।’

पुस्तकभित्र अनुराग, सम्झना, खेद, दर्द, अश्रु, मनदह, सपना, जीवनध्वनि गरी आठ खण्डमा हाइकुहरु समेटिएका छन्, जसले भावहरुको आरोह अवरोहयुक्त यात्रा गराउँछ । ‘हामी लेखनका अन्य विधाहरुसँगै काव्य विधालाई पनि फैलाउन प्रयत्नशील छौं,’ पब्लिकेशन नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘पहिलोपटक हाइकुहरुको संग्रह प्रकाशन गर्न पाउँदा खुशी लागेको छ ।’

काव्य कलालाई पुस्तक प्रकाशनका माध्यमबाट मात्रै नभइ अभियानकै रुपमा अघि सार्न यस पब्लिकेशनले केही महिनादेखि कवि श्रवण मुकारुङको संयोजकत्वमा ‘इ–कविता अभियान’ पनि सञ्चालन गर्दै आएको छ । यसमा हरेक शनिबार कविकै स्वरमा एउटा कविता संसारभर फैलिएका काव्यप्रेमीहरुले इन्टरनेटमार्फत् सुन्न सक्छन् ।

विप्लवको प्रस्तुत ‘शाडेनफ्रोएडा’लाई पब्लिकेशन नेपालयले अडियो बुकका रुपमा पनि प्रस्तुत गर्दैछ । अर्थात्, पढ्ने पाठकहरुले विप्लवका हस्ताक्षरमै पुस्तकको रसास्वादन गरेजस्तै सुन्ने पाठकहरुले पनि कविकै स्वरमा त्यसको आनन्द लिन सक्नेछन् । ४९५ रुपैयाँ मूल्य राखिएको यो किताबलाई नेपालयले भौतिक पुस्तक सँगसँगै ईबुकका रुपमा पनि बजारमा उपलब्ध गराएको छ ।

Logo