‘द रेड सुटकेस’ प्रिमियरमा कसले के भने ?

‘द रेड सुटकेस’ प्रिमियरमा कसले के भने ?

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । आगामी शुक्रबारदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘द रेड सुटकेस’ले मंगलबार साँझ राजधानीमा प्रिमियर शो गरेको छ । उक्त शो हेर्न आएका सिनेकर्मीले कथावस्तु फरक लागेको बताएका छन् ।

फिल्म निर्देशक एवम् अभिनेता नीर शाहले आफूले स्थापना गरेको कलेज अफ फिल्म स्टडिजबाट स्नातक निर्देशक फिडेल देवकोटाको कामको प्रशंसा गरे । ‘आज यति सुन्दर नेपाली फिल्म बनाएर अन्तर्राष्ट्रिय बजारमा फिडेलजीले नेपाललाई चिनाउँदा मलाई गौरव लागेको छ । यस्ता फिल्म नेपालमा अत्यन्त कम बन्ने भएकाले ‘द रेड सुटकेस’ जस्ता फिल्मलाई हामी सबैको साथ हुनुपर्छ,’ उनले भने ।

थिएटर सञ्चालकलाई सधैं व्यावसायिकता मात्र नहेरी विश्वले महत्व दिएको ‘द रेड सुटकेस’ जस्ता फिल्मलाई प्रदर्शन गरेर सहयोग गर्न उनले अपिल पनि गरे ।

सांसद रघुजी पन्तले ‘द रेड सुटकेस’ पृथक बनेको बताए । पूर्वशिक्षामन्त्री अशोककुमार राईले आफूले धेरै लामो समयपछि राम्रो फिल्म हेर्ने अवसर पाएको बताए ।

लेखक बुद्धिसागरले फिल्ममा आफ्नो गीत रहेको जानकारी गराउँदै स्कृप्ट पढेरै आफू यो फिल्मप्रति आकर्षित भएको बताए ।

अभिनेता विपिन कार्कीले आम फिल्मभन्दा निकै फरक भएकै कारण यस्ता फिल्मका निर्माताहरुलाई प्रोत्साहन गर्नुपर्छ भनेर आफूले ‘द रेड सुटकेस’मा विना पारिश्रमिक काम गरेको खुलाए । अभिनेत्री मिरुना मगरले ‘द रेड सुटकेस’ क्लासिक फिल्म बनेको बताइन् ।

आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको फिल्ममा फिडेल देवकोटाको लेखन र निर्देशन छ । फिल्म निर्माता देवकोटा, शोभा थापा र सहनिर्मातामा श्रीलंकाका विमुक्ति जयसुन्दरा छन् । फिल्ममा सौगात मल्ल, विपीन कार्की, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ लगायतको मुख्य भूमिका छ ।

Logo