ट्रेलरमा यस्ताे देखियाे चलचित्र ‘मनसरा’ [भिडियाे]

ट्रेलरमा यस्ताे देखियाे चलचित्र ‘मनसरा’ [भिडियाे]

केन्द्रबिन्दु
98
Shares

चलचित्र ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार एक कार्यक्रमका बीच उपेन्द्र सुब्बाको लेखन एवं निर्देशनमा बनेको चलचित्र ‘मनसरा’को ट्रेलर सार्वजनिक गरिएको हो । अन्तरजातीय प्रेम र विवाहेत्तर सम्बन्धको कथावस्तुमा निर्माण भएको फिल्ममा मिरुना मगर, प्रवीण खतिवडा, दयाहाङ राई र मेनुका प्रधानको अभिनय छ ।

फिल्मको केन्द्रीय कथावस्तु प्रवीण र मिरुनाको रहेको छ। ४ मिनेट २७ सेकेन्डको ट्रेलरमा घरमा पत्नी हुँदाहुँदै सन्तान भएकी लिम्बू महिलासँग सम्बन्ध गाँस्न र गाँस्दा आउने सामाजिक र मनोवैज्ञानिक उतारचढाव यसको केन्द्रीय कथावस्तुका रुपमा प्रस्तुत गरिएको देखिन्छ।

निर्देशक सुब्बाले यसअघि मिरुना र दयाहाङलाई लिएर ‘जारी’ निर्देशन गरेका थिए, जुन व्यावसायिक रुपमा ब्लकबस्टर सावित बन्यो । यसपटक पनि उनले पूर्वी नेपालको जातीय, सांस्कृतिक, सामाजिक र लैंगिक पक्षलाई कथावस्तुको मियोको रुपमा प्रस्तुत गरेका छन्।

चर्चित कवि विप्लव प्रतीक पनि फिल्ममा देखिएका छन् । एक्टरको रुपमा यो उनको डेब्यु फिल्म हो । पत्रकार सम्मेलनमा वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टका प्रमुख तथा क्यूएफएक्स हलका निर्देशक नकिम उद्दिन, डीसीएनका प्रबन्ध निर्देशक अशोक शर्मा, निर्देशक नवीन सुब्बा लगायतले शुभकामना दिए । ‘मनसरा’ फिल्म वैशाख २१ गतेबाट प्रदर्शनको तयारीमा छ । फिल्म निर्माणमा कबड्डी फिल्म्स र बाँसुरी फिल्म्सले सहकार्य गरेका छन् ।

Logo