काठमाडौँ । नेपाल भ्रमणमा आइपुगेकी मिस माल्टा चेरिस स्पीटेरीलाई नेपाल पर्यटन बोर्डको अगुवाइमा स्वागत गरिएको छ । सोमबार बिहान टर्सिस एयरलाइन्सको विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेसँगै उनलाई ढाकाटोपी र पञ्जेबाजाले स्वागत गरिएको बोर्डले जनाएको छ ।
एनआरएनएका अभियन्ता तथा माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीका अनुसार मिस माल्टासहितको टोली नेपाल भ्रमणमा आउनुले धेरै अर्थ राख्ने छ । यो भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरू केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु छन् ।
मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुने मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थाहरूसँग मिलेर सामाजिक कार्य गर्ने छन् । यस्तै उनीहरूले चितवनसहितका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने बताइएको छ । टोली नेपाल भ्रमण पूरा गरेर साउन २२ मात्र स्वदेश फर्किनेछ ।































प्रतिक्रिया