राधिकाको रहरै रहरकाे उडान

राधिकाको रहरै रहरकाे उडान

जिरे खुर्सानीदेखि कमेडी क्लबसम्मको कमेडियन यात्रा


‘सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन’ दिनेश अधिकारीको शब्दमा तारादेवीले गाएको यो गीतसँग आफ्नो जीवनयात्रा र करिअरलाई दाँजेर हेर्छिन्, कमेडियन राधिका कँडेल ।

कमेडीको उडान भरेर देशविदेशमा ख्याती कमाउँदै गर्दा राधिका लामो सुस्केरा तान्दै सम्झिन्छिन्, कहिले नर्स बन्ने, कहिले इन्जिनियर बन्ने र कहिले सरकारी जागिरे बनेर राष्ट्रको सेवा गर्ने अनगिन्ती सपना उनको जीवनमा आए, अनि गए पनि । जब जीन्दगीलाई बुझे जस्तो उनलाई लाग्यो, त्यसबेला देखि नै सरकारी जागिरको अत्यधिक मोह थियो, तर त्यो मोहले कति बेला युटर्न लिएर अर्को बाटो रोज्यो, उनले नै चाल पाइनन् । इलेक्ट्रोनिक्स ओभरसियरको उनको परिचयलाई अहिले कमेडियन र मिडिया पर्सनको परिचयले विस्थापित गरिदिएका छन् ।

सुरुमा मिडिया मोह, अनि हास्यप्रधान रेडियो स्टेसन ‘रेडियो अडियो’ सँगको सहयात्राले उनलाई कमेडियन तर्फको यात्रा तर्फ उत्प्रेरित गर्यो । आफूसँगै सहकर्म गरिरहेका राजा राजेन्द्र, सुबोध गौतम, सुमन कार्की, प्रभात लामा, दिनेश काफ्ले जस्ता साथीहरुको संगतले पनि हुनसक्छ, यति बेला राधिका चर्चित एवं लोकप्रिय कमेडियनको रुपमा नेपाली हास्यक्षेत्रमा स्थापित नाम बनाउन सफल देखिन्छिन् ।

राधिका कहिले विदेशी महिला पर्यटक बनिन् त कहिले हेर्ने कथाकी विद्या चापागाई अनि कहिले रास्वपाकी सांसद सोभिता गौतम । यी सबै क्यारेक्टरमा उनका प्रस्तुती लाजवाफ रहे ।

सुर्खेतको बाबियाचौर जहाँ राधिकाको बाल्यकाल बित्यो, त्यो थातथलोमा उनी मेधावी छात्राको परिचयमा हुर्किइन् । गम्भिर र मेहनती स्वभावकी राधिकाको शैक्षिक प्रतिभा हेरेर उनी धेरै उपल्लो तहमा पुग्ने अनुमान धेरैको थियो । मेडिकल, इन्जिनियरिङ लगायतका राम्रा विषयमा उच्च शिक्षा हासिल गरेर राधिका सरकारी जागिरे बन्नेछिन् भन्ने धेरैको बुझाई थियो ।

जिन्दगीले जुन मोडमा पुर्याएपनि काम र मेहनत गर्न छाड्न हुन्न भन्ने कुरालाई आत्मसाथ गरेर अगाडि बढ्ने व्यक्तिमा पर्छिन्, प्रोगाम होस्ट तथा कमेडियन राधिका । उनले कहिल्यै पनि यसरी फूल फेजमा मिडिया र कलाकारितामा जोडिएर काम गर्ने सोचकी थिइनन् । आफ्नो वरपर देखेका आफन्त तथा छिमेकीले सरकारी जागिर खाएर गरेको तरक्की देखेर उनले आफ्नो सपनालाई त्यहिसम्म मात्र देख्नलाई छुट दिएकि थिइन् । जस्तो भोग्यो उस्तै हुन्छ भनेजस्तै जीन्दगी भोगाईको क्रममा विभिन्न उहापोह झेल्दै अहिले उनी हास्य कलाकारिताको क्षेत्रमा पुगिन् ।

तरकारीवालीको रुपमा मिमिक्री गरेर राधिकाले कमेडियनको रेस प्रारम्भ गरेकी थिइन् । त्यसो त फुटकर रुपमा उनी यसअघि पनि हास्यक्षेत्रमा केहि प्रयोग गरिरहेकै हुन्थिन् । जब मुन्द्रेको कमेडी क्लबमा कोमल वलीको क्यारेक्टरमा उनी पर्दापण भइन्, त्यसपछि उनको चरित्र चित्रण गर्ने क्षमतालाई सबैले हृदयबाट स्वागत गरे । उनी कहिले विदेशी महिला पर्यटक बनिन् त कहिले हेर्ने कथाकी विद्या चापागाई अनि कहिले रास्वपाकी सांसद सोभिता गौतम । यी सबै क्यारेक्टरमा उनका प्रस्तुती लाजवाफ रहे । अनि उनलाई बल्ल लाग्यो उनी त कमेडीका लागि जन्मिएकी रहिछिन् ।

कोमल वलि बनेकी राधिकालाई देखेर स्वंय कोमल वली पनि चकित परिन् । उनले राधिकालाई भनिन्, ‘कति राम्रोसँग मेरो क्यारेक्टरलाई उतारेको, म त हेरेको हेर्यै भएँ राधिका ।’ राधिकाले क्यारिकेचरको यो यात्रामा यसरी मेहनत गरेकी छिन् कि अब जुनसुकै मिमिक्री वा क्यारिकेचर सहजै गर्न सक्छु भन्ने बलियो आत्मविश्वास उनमा छ । कमेडियन बनेर यात्रा सुरु गर्दै गर्दा भोगेका थुप्रै तिता क्षणलाई अहिलेको सफलताले बिर्साइदिएको उनको अनुभव छ ।

स्टाफ नर्स अध्ययनको लागि विरेन्द्र नगरमा ब्रिज कोर्सको तयारी गर्न थालिन्, तर राधिकाको मन त्यहाँ अडिएन ।

जीवनको प्रारम्भिक यात्रा

बाबीयाचौरकी जेहेनदार राधिकाले विद्यालय तहको शिक्षा सूर्य प्रकाश मावि साल्कोटबाट पुरा गरिन् । त्यसबखत उत्कृष्ट अंक ल्याएर एसएलसी उत्तीर्ण गर्ने विद्यार्थी थिइन् उनी । पढाईमा उत्कृष्ट भएकै कारण राधिकाको परिवार र शिक्षकहरुले उनी सरकारी सेवामा आवद्ध भएर काम गरेको हेर्न चाहेका थिए । जसमा उनी पनि सहमत थिइन् ।

उत्साहित राधिका एसएलसीको परीक्षापछि स्टाफ नर्स अध्ययनको लागि विरेन्द्र नगरमा ब्रिज कोर्सको तयारी गर्न थालिन् । तर उनको मन त्यहाँ अडिएन । ब्रीजकोर्स नसकिँदै उनका पाइला काठमाडौंतर्फ सोझिए । प्राविधिक क्षेत्र त्यसमा पनि इन्जिनियरिङ शिक्षा तर्फ उनले मनलाई डोर्याइन् । त्यसपछि थापाथली इन्जिनियरिङ कलेजमा ३ वर्षे इलेक्ट्रोनिक्स डिप्लोमा कोर्समा नाम निकालेर अध्ययन पूरा गरिन् र बनिन् सब इन्जिनियर अर्थात् ओभरसियर ।

अनि सब ईन्जिनियर पढ्दा पढ्दै रेडियोमा आरजेको रुपमा काम गर्न थालिन् ।

परिवारमा निराशा छाएको अवस्था

जब उनले ब्रिज कोर्स ब्रेक गरेर काठमाडौंको यात्रा गरिन्, त्यो समय परिवार दुखी हुनपुग्यो । परिवारमा निराशा छाएपनि राधिकाले दृढ आत्मविश्वास लिएर एकदिन निराशालाई खुशीमा परिणत गर्ने प्रण गरिन् । परिवारको खुशीका निम्ति उनको पहिलो पहल थियो, थापाथली इन्जिनियरिङ कलेजको सब इन्जिनियर कोर्सको पढाई । परिवारलाई निराश बनाउँदिन भन्ने भावनाले उनलाई इन्जिनियरिङ तर्फको अध्ययनमा डोर्याएपनि उनी स्वंय भने त्यो अध्ययनबाट खुशी थिइनन् ।

संयोग, उनी सब ईन्जिनियर पढ्दा पढ्दै रेडियोमा आरजेको रुपमा काम गर्न थालिन् । मिडियामा त्यति राम्रो भविष्य छैन भन्ने सोच राख्ने उनी आफै काम गर्दै जाँदा आफ्नो लागि सहि प्ल्याटफर्म त मिडिया नै रैछ भन्ने सोचमा पुग्न थालिन् ।
दोस्रो पटक फेरी उनको परिवार निराश बन्न पुग्यो । छोरी प्राविधिक शिक्षाको बाटोमा अघि बढिन् भनेर खुशी भएको परिवार मिडियामा काम गर्न थालेको भन्ने थाहा पाएर निराश भयो ।

पढाईमा अब्बल छोरी पढेर सरकारी जागिर खाएकै हेर्ने अभिभावककाे एकमात्र चाहना थियो । यहाँ राधिकाको अगाडि एकमात्र विकल्प थियो, अब एकदमै मेहनत गरेर आफूलाई प्रमाणित गर्ने । यहि कारण उनले जुन क्षेत्रमा काम गरेर आफू खुशी बनेको छु, त्यहाँ उत्कृष्ट काम गरेर परिवारको निराशालाई पनि खुशीमा परिणत गर्छु भन्ने अठोट राखिन् ।

बारम्बार मस्तिष्कमा आइरहने सरकारी जागिर धङधङीका बाबजुद उनको करियरका पाङ्ग्रा भने विभिन्न मोडबाट गुज्रिरहेका थिए । नर्सिङ, इन्जिनियरिङ पछि मिडिया अध्ययन गर्ने तर्फ उनी अग्रसर भइन् । मिडिया क्षेत्रमै थप अध्ययन गर्नुपर्छ भन्ने सोच अनुसार पत्रकारिताको केन्द्रिय क्याम्पस रत्नराज्य लक्ष्मी क्याम्पसबाट पत्रकारिता र अंग्रेजीमा राधिकाले स्नातक उत्तीर्ण गरिन् ।

अहिले अविभावक खुशी हुनुहुन्छ ? भन्ने प्रश्नमा उनी भन्छिन्, ‘पूर्ण रुपमा नभएपनि केही हदसम्मको खुशी चाहि दिन सके । आमा बुवालाई छोराछोरीको चिन्ताले कहिल्यै नछोड्ने, छोरीको भविश्य के होला कस्तो होला भन्ने भएर हुनसक्छ, हरदम उनको यात्राबारे अभिभावकले चासो राख्नुहुन्छ ।’

पकेटमनीको लागि रेडियोमा काम

आत्मनिर्भर बन्न पर्छ भन्ने सोच सुरुवातदेखि नै उनमा थियो । यहि सोचका कारण उनमा थापाथलीमा पढ्दै गर्दा आफ्नो पकेट मनी मात्रै जुटाउन भएपनि काम गर्ने सोच आउन थाल्यो । यहि बिचमा उनी पहिलो पटक रेडियो सिटीमा काम गर्ने अवसर पाइन् । जहाँ उनले १ वर्ष सम्म काम गरिन् । त्यसपछि केही समय स्टार एफएममा पनि उनको समय बित्यो ।

मुन्द्रेको कमेडी क्लबमा कोमल वलीको अभिनय राधिकाको जीवनको टर्निङ प्वाइन्ट बन्यो ।

त्यस पछि उनी जोडिइन् रेडियो अडियोसँग । जहाँ उनले झण्डै १० वर्ष बिताइन् । हास्यव्यंग्यमा आधारित नेपालको एकमात्र रेडियो हो, रेडियो-अडियो । यहाँ काम गर्दै गर्दा राधिकाको पनि हास्यव्यंग विधामा चासो बढ्दै गयो र उनमा अनुभवसँगै निखारता पनि आउँदै गयो । रेडियो अडियोले फर्सी नेटवर्क युट्युब च्यानल सुरु गरेर उनको कामलाई बढी प्राथमिकता दियो । अडियोमा काम गर्दै गरेकी उनी भिडियोको यात्रातर्फ अग्रसर भइन् । जहाँ उनले कलाकारको अन्तर्वार्ता लिनेदेखि टिमसँग मिलेर केही प्यारोडी कमेडी भिडियो उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरिन् ।

जिरे खुर्सानीदेखि कमेडी क्लबसम्मको कमेडियन यात्रा

रेडियो अडियोमा उनको संगत र काम पनि त्यहि प्रकृतिको हुन थाल्यो । यहि क्रममा उनले जिरे खुर्सानी सिजन २ मा काम गर्ने अवसर पाइन् । उनले जिरे खुर्सानीमा तिम्सिनाकी छोरीको पात्रमा २० वटा एपिशोडमा काम गरिन् । बिस्तारै उनले सामाजिक विषयवस्तुमा बन्ने प्यारोडीहरुमा पनि काम गर्न थालिन् । जसमा दर्शकले उनको प्रस्तुतीको तारिफ गर्न थाले । त्यसपछि उनले जनता टेलिभिजनमा नेपाली कमेडी शो गर्ने अवसर पाइन । पछि मेघा कमेडी शो कमेडी हबमा हास्यप्रस्तुतीका साथमा कार्यक्रम संचालिकाको रुपमा काम गरिन् । यसपछि उनको थप प्रशंसा चुलियो ।

मुन्द्रेको कमेडी क्लबमा कोमल वलीको अभिनय उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो । दुरुस्तै कोमलको रुपमा देखिएको भनेर धेरैले उनको तारिफ गरे । उनलाई नचिन्नेहरुले पनि यसपछि राम्रैसँग चिने । अनि त के चाहियो, गाईजात्रा र कमेडी टुरका अफर राधिकालाई धमाधम आउन थाले । कोमल वलीकाे अभिनय र स्ट्यान्ड अप कमेडी गर्दै उनले अमेरिका भ्रमण गरिन् । हालै उनी अमेरिकाका विभिन्न ८ शहरमा प्रस्तुती दिएर फर्किएकी छिन् ।

राधिकामा सरकारी जागिरको अत्यधिक मोह थियो, तर त्यो मोहले कति बेला युटर्न लिएर अर्को बाटो रोज्यो, उनले नै चाल पाइनन् ।

मिडिया पर्सनले ओझेलमा पारेको कमेडी करियर

आरजेको रुपमा करियरको सुरुवात गरेकी राधिका अहिले कमेडियनसँगै पोडकास्टको रुपमा पनि काम गरिरहेकी छिन् । उनको पोडकास्ट ‘फिल फ्रि विथ राधिका’ लाई पनि दर्शकले अत्यन्तै रुचाइदिएका छन् । उनी भन्छिन्, –‘मेरो यो कामले जितेको भएर कमेडी जति चर्चामा आउन पर्ने थियो त्यति नआएको हो कि भन्ने पनि लाग्छ । किनभने पोडकास्टको काम म निरन्तर गरिरहेको छु ।’

कमेडीमा दर्शकमाझ भिज्ने क्यारेक्टरमा ल्याउन केहि समय ग्याप लिनुपर्ने भएकाले आफ्नो परिचयमा मिडिया हावी भएको राधिकाको बुझाई छ । धेरैले परिचयको क्रममा मिडिया पर्सन भनेर चिनाउँदा कतै कमेडियनको परिचय ओझेलमा पर्‍यो कि भन्ने चिन्ता हो, उनको कथन थियो ।

Skip This
Skip This
Logo