काठमाडाैं । गायन रियालिटी शो भ्वाइस अफ नेपालको सिजन ६ मा यति बेला हरि लुँइटेलको चर्चा चुलिएकाे छ । तेह्रथुमका लुँइटेलले पछिल्लो समयमा लोकप्रियता कमाइरहेको फ्रेन्चाइज शो भ्वाइस अफ नेपाल सिजन ६ मा आफ्नो प्रस्तुति मार्फत सबैको ध्यान खिचेका हुन् ।
आफ्नो सुरिलो आवाजमार्फत चार जना निर्णायककै कुर्सी घुमाउन सफल उनले प्रतियोगितामा आफूले दर्शकको राम्राे समर्थन पाएको बताएका छन् ।
लुँइटेल भ्वाइस अफ नेपाल प्रतियोगितामा भाग लिनकै लागि मलेसियाको लोभलाग्दो जागिर छोडेर नेपाल आएका हुन् । पहिलो चरण पार गर्दै आफ्नो यात्रा प्रारम्भ गरेका उनले संगीत साधनामा अझै निखार ल्याउन निरन्तर मेहनत गर्ने बताएका छन्। उनले भने, “पहिलो चरण पार गर्नु मेरो लागि ठूलो उपलब्धि हो । यो चरण पार गरेसँगै जिम्मेवारी अझै बढेको छ, र म संगीत साधनामा आफूलाई अझ सुदृढ बनाउँदै जानेछु ।”
प्रतियोगिताको ब्लाइन्ड अडिसनमा लुँइटेलले गायक जगदिश समालको स्वरमा रहेको “अलि अलि” बोलको गीत गाएका थिए। उनको सुमधुर आवाजले जजेजहरुलाई प्रभावित पारेको थियो, जसले उनलाई टिम चयनको अद्वितीय अवसर दिइएको थियो । अन्ततः लुँइटेलले कोच उदय सोताङको टिममा जाने निर्णय गरे ।
उनको प्रस्तुति र संघर्षले दर्शकहरुको मन जितिरहेको छ । मलेसियामा सुरक्षित जागिर छोडेर उनले संगीतको सपना पछ्याएको प्रेरणादायक कथा अहिले धेरैका लागि उदाहरणीय बनेको छ।
अब लुँइटेलले कोच उदयको मार्गदर्शनमा आगामी चरणमा उत्कृष्ट प्रदर्शन गर्दै जाने अपेक्षा गरिएको छ । भ्वाइस अफ नेपालको यो सिजनमा उनको यात्रा कत्तिको सफल हुन्छ, त्यो भने हेर्न बाँकी छ ।





























प्रतिक्रिया