काठमाडौः नेपाली आधुनिक गीत, संगीतको क्षेत्रमा गायिका बबिना भट्टराईको स्वर तथा संगीत एवं कैलाश घिमिरेको शब्दमा प्रेमिल भाव बोकेको गीत ‘तिम्रै मुटुमा’ सार्वजनिक भएको छ । गीतकार कैलाश घिमिरेले गीत ‘तिम्रै मुटुमा’ मार्फत एउटा प्रेमीको भावनात्मक व्यथा, तडप, र समर्पणलाई निकै कोमल र भावुक रूपमा प्रस्तुत गरेका छन् ।
तिम्रै मुटुमा धड्किन चाहन्छु
मायाको झरी बनि म तिम्रै लागि बर्सिन चाहन्छु …
गीति हरफहरुमा प्रेमीले आफ्नो सम्पूर्ण अस्तित्व प्रेमिकामै समर्पण गर्न चाहेको गहिरो भाव छ । ऊ उनको हृदयभित्रै हरपल धड्किन चाहन्छ । झरी, बादल, वर्षा यी शब्दले मौसमलाई प्रतिनिधित्व गर्छन् तर यहाँ गीतकारले मौसमलाई मात्र होइन प्रेम जोडेका छन् । पानी पर्नु र झरी पर्नु फरक कुरा हो । पानी सिमसिम पनि पर्न सक्छ, दर्किन पनि सक्छ अनि पानी मुसलधारे पनि मर्न सक्छ । तर झरी लगातार, निरन्तर, एउटै लयमा, एउटै गतिमा अनवरत, धैर्यपूर्वक, शान्तिपूर्वक वर्षन्छ, ऊ उनको लागि झरी जस्तै वर्षन चाहन्छ, उनको मुटुमा झरीझैँ सधैं बर्सिरहने, सधैं भिजाइरहने, सधैं समर्पणमै बगिरहने पे्रमिल भाव ऊ उनी प्रति दर्शाउन चाहन्छ । मायाको झरी बनेर ऊ निरन्तर प्रेमवर्षा गर्न चाहन्छ ।
विशेषतः युवा पुस्ता जो गहिरो प्रेममा परेका छन् त्यस्ता प्रेमिल मनलाई ‘तिम्रै मुटुमा’ गीतले गहिरो भावमा डुवाउनेछ । पछिल्लो समय नेपाली आधुनिक गीत,संगीतमा जब बबिना भट्टराईको नाम आउँछ, श्रोताको मनमा एउटै अनुभूति जाग्छ कोमलता, प्रेम, र भावुक धुनहरू सहितको मिठास । यिनै भावहरू बोकेको ‘तिम्रै मुटुमा’ गीतले फेरि एकपटक प्रेमिल मनहरुलाई तानिरहेको छ । अन्य गीतहरुमा जस्तै ‘तिम्रै मुटुमा’ बोलको यो गीतमा पनि बबिनाको आवाज शान्त र स्थिर छ तर यस गीतमा त्यो स्थिरताभित्र पनि गहिरो प्रेमको तडप छ ।
गीत ‘तिम्रै मुटुमा’ मा देवेन्द्र नेवाःको एरेन्ज रहेको छ । अकेष्टिक नेपालको स्टुडियोमा दिल समर्पण र राजाबाबु थारुले रेकर्ड गरेका उक्त गीतकोे मिक्सिङ मास्टरिङ प्रकाश मिश्रले गरेका छन् ।
ए.जे. अजुले छायाकंन र निर्देशन गरेका ‘तिम्रै मुटुमा’ गीतको भिडियो सम्पादन भने अनिल विष्ट प्युठानीले गरेका छन् । भिडियोमा बबिना आफै फिचर्ड भएकी छिन् । ‘तिम्रै मुटुमा’ गीतको भिडियोमा रोजिना श्रेष्ठको श्रृङ्गार रहेको छ । गीत ‘तिम्रै मुटुमा’ भिडियो गायिका तथा संगीतकार बबिना भट्टराईको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।





























प्रतिक्रिया