गायक रामकृष्ण ढकालले भने- अब त अति भयो, सहनै सकिएन

गायक रामकृष्ण ढकालले भने- अब त अति भयो, सहनै सकिएन

केन्द्रबिन्दु
162
Shares

काठमाडौं । चर्चित गायक रामकृष्ण ढकालले आफूमाथि भइरहेको साइबर दुर्व्यवहार र अपमानबारे मुख खाेलेका छन् । सामाजिक सञ्जालमार्फत नक्कली नाम र फेक आईडी बनाएर व्यक्तिगत जीवनमाथि निरन्तर प्रहार भइरहेको भन्दै उनले यस्ता अपराधीहरूलाई साइबर ब्युरोमार्फत कारबाहीको माग गरेका हुन् ।

गायक ढकालले एक लामो सन्देश जारी गर्दै समाजमा अभिव्यक्ति स्वतन्त्रता र प्रविधिको सहजताले गर्दा हरेक व्यक्ति आफैँमा सञ्चारकर्मी बनेको बताउँदै यो स्वागतयोग्य कुरा भए पनि केही दुषित र आपराधिक मनोवृत्तिका व्यक्तिहरूले प्रविधि र मिडियाको चरम दुरुपयोग गरी कलाकारको व्यक्तिगत जीवनमाथि प्रहार गरिरहेकोमा चिन्ता व्यक्त गरेका हुन् ।

“अति भयो, सहनै सकिएन यो हदसम्मको अपमान,” ढकालले आफ्नो सन्देशमा भनेका छन्, “सामाजिक सञ्जालमा नक्कली नाममा फेक आइडी बनाएर आफूलाई पानीमाथिको ओभानो बनाउँछु, मलाई भेटाउनै सक्दैनन् भन्ने भ्रम छ भने कृपया हटाई हाल्नुहोस् । तपाईँहरू जस्ता अपराधीलाई कठघरामा उभ्याउन र अपराध कर्मलाई जरैबाट उखेल्न नै साइबर ब्युरोको जन्म भएको हो । उहाँहरूले पानी मुनिबाट पनि खोजेर सार्वजनिक गर्नु नै हुनेछ ।”

गायक ढकालले कलाकारहरू सार्वजनिक व्यक्तित्व भए पनि उनीहरूको निजी जीवनमाथि अनर्गल टिप्पणी गर्ने अधिकार कसैलाई नभएकोमा जोड दिएका छन् । उनले रचनात्मक आलोचना र सुझावलाई सधैँ स्वागत गर्ने तर व्यक्तिगत जीवनमा धक्का पुग्ने गरी मानसिक पीडा दिन कदापि नपाइने बताएका छन् ।

धेरैजसो कलाकारहरू प्रतिकूल परिस्थितिबाट गुज्रदै लामो संघर्ष गरेर स्थापित भएको स्मरण गराउँदै ढकालले उनीहरूमाथि बर्सिने तुच्छ गालीको असर उनीहरूको जीवनमा पर्नेबारे कहिल्यै महसुस गरिएको छ भनी प्रश्नसमेत गरेका छन् ।

यस्ता क्रियाकलापले कलाकारहरूको पारिवारिक सम्बन्धमा असर पर्नुका साथै उनीहरूमा मानसिक तनाव समेत बढ्दै गएको छ । यसको प्रत्यक्ष प्रभाव उनीहरूका सिर्जना र प्रस्तुतिहरूमा समेत परेको र अन्ततः समाज र राष्ट्रलाई नै गम्भीर नोक्सानी भइरहेको ढकालको भनाइ छ ।

Logo