काठमाडौं । निर्देशक शोभित बस्नेतको नयाँ फिल्म ‘पीआर’ को बहुप्रतिक्षित ट्रेलर सार्वजनिक भएको छ।
काठमाडौंमा मंगलबार आयोजित विशेष समारोहमा रिलिज गरिएको तीन मिनेट लामो ट्रेलरले देश–विदेशमा रहने नेपाली युवाको मन छोएको छ । अध्ययन र भविष्यको खोजीमा अष्ट्रेलिया पुगेका नेपाली युवाको जीवनयात्रा र ‘पीआर’ अर्थात् स्थायी बसोबासको मोहले परिवार र समाजमा पार्ने प्रभावलाई फिल्मले उठान गरेको देखिन्छ ।
ट्रेलरले सुरुवातमै विदेशिएको सपनासँगै सुरु हुने संघर्ष, प्रेम, विश्वासघात, बिछोड र बदलासम्मको भावनात्मक यात्रा देखाउँछ। अष्ट्रेलियाको आकर्षक जीवनशैलीसँगै त्यहाँ पुगेपछि भोग्नु पर्ने कडा यथार्थ, आर्थिक दवाब, सम्बन्धमा पर्ने तनाव, र आफ्नो पहिचान बचाएर अघि बढ्नु पर्ने चुनौतीलाई स्पष्ट रूपमा चित्रण गरिएको छ ।
फिल्मले “आफ्नो देश आफ्नै हुन्छ” भन्ने भावनालाई केन्द्रमा राख्दै विदेशमा बसेका नेपाली मनको पिडा दर्शकसम्म पु¥याउने प्रयास गरेको निर्देशक बस्नेतले बताए । नयाँ अनुहारलाई ठूलो क्यानभासमा प्रस्तुत गर्न पाएको खुसी व्यक्त गर्दै उनले ‘पीआर’ले नेपाली युवाको वास्तविक कथालाई नजिकबाट छुन खोजेको बताए ।
अष्ट्रेलियामा बसोबास गर्दै आएका आर ए सुरज पौडेल र विनिता कार्की फिल्मका मुख्य पात्रका रूपमा देखिएका छन्। विदेशमा आफ्नो ठाउँ बनाउन संघर्षरत एक युवक र देशप्रेममा बाँधिएकी युवतीको कथालाई उनीहरूले जीवन्त रूपमा उतार्ने प्रयास गरेका छन्। ट्रेलर सार्वजनिक कार्यक्रममा नायक पौडेलले “पीआर पाउन सजिलो छैन, हजारौँ युवाले दैनिक भोग्ने कडाइ यसैमा देख्न सकिन्छ” भन्दै फिल्म आफ्नो वास्तविक अनुभवसँग नजिक रहेको बताए।
त्यस्तै, नायिका विनिता कार्कीले विदेशमा बसे पनि मन भने कहिल्यै मातृभूमिबाट टाढिँदैन भन्ने भावनात्मक अनुभव सुनाइन्। “देशको माया मनमा भए पनि परिस्थितिले विदेशिनुपर्ने पीडा धेरैको साझा कहानी हो,” उनको भनाइ थियो।
फिल्ममा अनुभवी कलाकार नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. नेपाल, दिक्पाल कार्की लगायतको विशेष भूमिका रहेको छ, जसले कथा अझ प्रभावशाली हुने अपेक्षा दर्शकले गर्न सक्छन्। त्यस्तै, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा, नवीन घायललगायतका कलाकारको अभिनय पनि समावेश छ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको ‘पीआर’ को प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन्। फिल्मका लगानीकर्ता लक्ष्मण सापकोटा र प्रदीप दाहाल रहेका छन्। छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन् भने सम्पादन बन्दे प्रसादको रहेको छ।





























प्रतिक्रिया