काठमाडौं । गायक यम बरालका दुई नयाँ गीतका भिडियोहरू “यो साँझ फेरि” र “जुन र सुन”को विमोचन भएका छन् ।
काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच नेपाली कला तथा संगीत क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई अझै विशेष बनाएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ रहेका थिए । उनले यम बरालको सिर्जनशील यात्राको खुलेर प्रशंसा गर्दै नयाँ पुस्ताका कलाकारहरूले मौलिकता, मेहनत र गुणस्तरलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । संगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजलाई सकारात्मक दिशा दिन सक्ने शक्तिशाली माध्यम भएको उल्लेख गर्दै उनले यस्ता सिर्जनाहरूले समाजमा राम्रो प्रभाव पार्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै गायक तथा सर्जक यम बरालले आफ्ना यी दुई गीत दर्शक तथा स्रोताको मन जित्नेमा आफू आशावादी रहेको बताए । उनले गीत निर्माणको क्रममा प्राप्त साथ, सहयोग र मायाप्रति सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझै सशक्त र अर्थपूर्ण सिर्जनाहरू प्रस्तुत गर्ने प्रतिबद्धता जनाए ।

गीत “यो साँझ फेरि” भावनात्मक प्रेम कथामा आधारित रहेको छ, जसले प्रेम, सम्झना र संवेदनालाई सशक्त रूपमा प्रस्तुत गरेको छ । यस गीतको भिडियोमा यम बराल र जुना कार्कीको अभिनय देख्न सकिन्छ ।
त्यसैगरी, “जुन र सुन” आधुनिक शैली र मधुर संगीत संयोजनमा तयार गरिएको गीत हो । यस गीतको भिडियोमा यम बरालसँगै श्री थपलियाको अभिनय रहेको छ । कलात्मक निर्देशन, सशक्त प्रस्तुति र दृश्य सौन्दर्यले भिडियो दर्शकका लागि विशेष आकर्षण बनेको छ ।
यस्तै, संगीतकार दिपक जंगमले सार्वजनिक गीतका बिभिन्न आयामहरु बारे चर्चा गरेका थिए । उनले हरेक कोणबाट उत्कृष्ट सृजना तयार भएको बताए । गीतमा शब्द, संगीत र स्वरको अदभूत तालमेल मिलेको प्रतिक्रिया जंगमको भनाई छ ।
यस्तै विशेष अतिथी चर्चित कलाकार तथा चलचित्र निर्देशक दिपाश्री निरौलाले यम बरालको गायकीको तारिफ गरेकी थिइन् । सार्वजनिक भएका भिडियोहरु पनि आफूलाई राम्रो लागेको भन्दै उनले बराल आफ्नो मनपर्ने गायक भएको बताइन् ।
कार्यक्रममा गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, पूर्व अध्यक्ष बरिष्ठ पत्रकार शान्तिप्रिय, एनआरएनए कोरियाका संस्थापक अध्यक्ष गंगा राज राई, संगीतसर्जक गणेश पराजुली, गीतसंगीतमा आवद्ध श्रष्टा, स्रजक तथा कलाकारहरुका साथै बिभिन्न क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।































प्रतिक्रिया