काठमाडौं । नेपाली संगीत क्षेत्रमा नयाँ गीत ‘कलियुगकी राधा’ सार्वजनिक भएकाे छ। आधुनिक समाजमा प्रेम, नारी भावना र सम्बन्धको यथार्थलाई समेटेर तयार पारिएको उक्त गीत बिहीबार एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।
गीतमा चर्चित गायिका बविता मानन्धरको स्वर रहेको छ । लामो समयदेखि नेपाली गीत-संगीत क्षेत्रमा सक्रिय मानन्धरको आवाजले गीतलाई भावनात्मक र सशक्त बनाएको छ। गीतलाई सुमधुर बनाउन संगीतकार शंकर थापा ‘स्माइल’ र गीतकार डिपी खनालको भूमिका पनि उत्तिकै छ ।
गीतको भिडियोमा आस्मा बिश्वकर्मा र अभिषेक श्रेष्ठले मुख्य मोडलको रूपमा अभिनय गरेका छन्। गीतको म्युजिक भिडियोको निर्देशन राजिव शर्माले गरेका हुन्। निर्देशनमा कथावस्तु, दृश्य संयोजन र भावनात्मक पक्षलाई प्राथमिकता दिइएको देखिन्छ।
गीतका प्रोड्युसर सुरेस मानन्धर हुन्। उनका अनुसार नेपाली गीत-संगीतमा नयाँ सोच र गुणस्तरीय प्रस्तुतिको खाँचो महसुस गर्दै यो सिर्जना अघि बढाइएको हो। कार्यक्रममा मन्तव्य राख्दै गायिका बविता मानन्धरले ‘कलियुगकी राधा’ गीत वर्तमान समयको समाज र सम्बन्धलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने प्रयास भएको बताइन्। उनले नेपाली संगीतलाई समयसापेक्ष बनाउन नयाँ विषयवस्तु र प्रस्तुति आवश्यक रहेको धारणा राखिन्।
कार्यक्रममा संगीत क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।































प्रतिक्रिया