कान्स फिल्म फेस्टिभलमा पहिलोपटक चलचित्र विकास बोर्डकाे सहभागिता

कान्स फिल्म फेस्टिभलमा पहिलोपटक चलचित्र विकास बोर्डकाे सहभागिता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चलचित्र विकास बोर्डले फ्रान्सको कान्स सहरमा आयोजना भइरहेको ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालले पहिलोपटक आधिकारिक रूपमा सहभागिता जनाएको जनाएको छ ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा बोर्डले नेपालका तर्फबाट आधिकारिक स्टल स्थापना गर्दै नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने ऐतिहासिक पहल गरेको हो ।

बोर्डद्वारा जारी प्रेस विज्ञप्तिअनुसार यस पहलको मुख्य उद्देश्य नेपाली चलचित्र, चलचित्रकर्मी, नेपालको सांस्कृतिक पहिचान तथा नेपालमा छायांकनका सम्भावनालाई विश्व बजारसम्म पु-याउनु रहेको छ । स्टलको स्थानीय व्यवस्थापन तथा सहकार्य बेलायतमा रहेको नेपाली ग्रुप कम्पनी ‘शाही प्रोडक्सन’ले गरेको बोर्डले जनाएको छ ।

चलचित्र विकास बोर्डले कान्स फिल्म फेस्टिभलमा सहभागिताका लागि यसअघि नै सूचना जारी गर्दै इच्छुक नेपाली चलचित्रकर्मीहरूलाई पोस्टर, ट्रेलर, प्रचार सामग्री तथा अन्य आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको थियो । बोर्डका अनुसार विभिन्न विधाबाट छनोट गरिएका नेपाली चलचित्रहरूमध्ये चलचित्र ‘एलिफेन्ट इन द फाल्क’लाई विशेष प्राथमिकताका साथ नेपाल स्टलमा समेट्ने तयारी गरिएको थियो ।

यसै सिलसिलामा बोर्डले चलचित्रका निर्माता अनुप पौडेल र निर्देशक अभिनयशिखर शाहीसँग छलफल तथा समन्वयसमेत गरेको जनाएको छ । छलफलका क्रममा उक्त चलचित्रलाई कान्समा प्राथमिकताका साथ प्रस्तुत गर्ने, स्टलको करिब ६० प्रतिशत स्थान चलचित्रको प्रचार सामग्रीका लागि छुट्याउने तथा नेपाल पर्यटन बोर्डको तर्फबाट चलचित्रकर्मीको सम्मानमा नेटवर्किङ पार्टी आयोजना गर्ने योजना समेत अघि बढाइएको थियो ।

बोर्डले स्टलका लागि आवश्यक डिजाइन, लोगो तथा प्रचार सामग्रीका विषयमा पनि सम्बन्धित पक्षसँग प्रत्यक्ष समन्वय गरेको जनाएको छ । चलचित्र प्रवर्द्धनका लागि आवश्यक मापदण्डअनुसार प्रचार सामग्री उपलब्ध गराउन बोर्डले औपचारिक अनुरोधसमेत गरेको थियो ।

चलचित्र विकास बोर्डका अनुसार नेपालले कान्स फिल्म फेस्टिभलमा आधिकारिक रूपमा सहभागिता जनाउनु नेपाली चलचित्र उद्योगका लागि महत्त्वपूर्ण उपलब्धि हो । यसले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने, विदेशी लगानी तथा सहकार्य आकर्षित गर्ने र नेपाललाई अन्तर्राष्ट्रिय छायांकन गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ ।

Logo