काठमाडौं । अन्तर्राष्ट्रिय ख्याति प्राप्त नृत्य प्रतियोगिता ‘वल्र्ड अफ डान्स नेपाल’को आज राजधानीमा आयोजना हुन लागेको ग्रान्ड फिनालेमा सेलिब्रेटी ग्रान्ड जुरीको भूमिका निर्वाह गर्न बलिउडका चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक टोलीले भव्य स्वागत गरेको छ ।
लुइससँगै ‘टेरेन्स लुइस डान्स एकेडेमी’की प्रमुख कोरियोग्राफर महरुख डुमासिया पनि नेपाल आएकी छन् । विमानस्थलमा स्वागत गर्नेमा ‘वल्र्ड अफ डान्स नेपाल’का कलात्मक निर्देशक जेडी तमु, राष्ट्रिय निर्देशक रोशन गहतराज लगायतको टोली सहभागी थियो ।
पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै लुइसले नेपाल आउन पाउनु आफ्ना लागि गर्वको क्षण भएको बताए । उनले कलात्मक निर्देशक जेडी तमुलाई आफ्नो उत्कृष्ट विद्यार्थी तथा एकेडेमीकै ब्याच टपरको रूपमा स्मरण गर्दै आजको ग्रान्ड फिनालेमा उत्कृष्ट अनुभव संगाल्ने विश्वास व्यक्त गरे । भारतमा रहँदा थुप्रै नेपाली डान्सरसँग काम गरेको अनुभव सुनाउँदै उनले नेपाली प्रतिभाहरूको मुक्तकण्ठले प्रशंसा गरे । नेपाली कलाकारहरू स्वअध्ययनबाटै विश्वस्तरीय नृत्य प्रस्तुत गर्न सक्ने क्षमता देखेर आफू सधैँ चकित हुने गरेको उनको भनाइ थियो ।
भारतमा ‘कन्टेम्पररी डान्स’लाई लोकप्रिय बनाउन अग्रणी भूमिका खेलेका मुम्बईस्थित लुइस ‘लगान’ र ‘झङ्कार बिट्स’ जस्ता सफल चलचित्रमा उत्कृष्ट कोरियोग्राफीका लागि परिचित छन् । ‘डान्स इन्डिया डान्स’ र ‘इन्डियाज बेस्ट डान्सर’ जस्ता ठूला रियालिटी शोमा निर्णायकका रूपमा अत्यधिक लोकप्रिय उनले हजारौं नयाँ डान्सरलाई प्रशिक्षण दिँदै नृत्य उद्योगमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।

सन् २००८ मा अमेरिकाको दक्षिणी क्यालिफोर्नियाबाट सुरु भई हाल ५० भन्दा बढी देशमा विस्तार भइसकेको ‘वल्र्ड अफ डान्स’ प्लेटफर्मलाई नेपालमा भित्र्याउनुको मुख्य उद्देश्य नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउनु रहेको आयोजकले जनाएका छन् ।
आज हुने ग्रान्ड फिनालेको निर्णायक मण्डलमा टेरेन्स लुइसका साथै नेपालका चर्चित ‘वाइल्ड रिपर्ज क्रु’का सदस्य किरण थापा र कलात्मक निर्देशक जेडी तमु रहनेछन् । देशका पाँच प्रमुख सहर नेपालगन्ज, बुटवल, पोखरा, काठमाडौं र इटहरीमा सम्पन्न अडिसनबाट छानिएका उत्कृष्ट प्रतिस्पर्धीहरूले फिनालेमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितालाई अपर डिभिजन, जुनियर डिभिजन, अपर टिम डिभिजन र जुनियर टिम डिभिजन गरी चार विधामा विभाजन गरिएको छ ।
प्रत्येक विधाका विजेताले नगद १ लाख रुपैयाँ र २४ क्यारेट सुनको जलप गरिएको आकर्षक ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको सबैभन्दा ठूलो आकर्षण भनेको विजेताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै विश्व मञ्चमा प्रस्तुति दिन पाउने अवसर हो। अमेरिकी दूतावासको विशेष चासो र सहकार्य रहेको यस आयोजनाप्रति नेपाली कला क्षेत्रका दिग्गज व्यक्तित्वहरूले उत्साह व्यक्त गरेका छन् ।
आयोजकका अनुसार यो प्रतियोगिताले नेपाली डान्सरहरूलाई उत्सव मनाउने अवसर मात्र दिने नभई उदीयमान कलाकारका लागि प्रेरणाको सशक्त स्रोतका रूपमा काम गर्नेछ।





























प्रतिक्रिया