आर्यन खानको बारेमा किन बोलेनन् आमिर, अजय र अक्षय ?

आर्यन खानको बारेमा किन बोलेनन् आमिर, अजय र अक्षय ?


पछिल्लो केही दिनयता शाहरुख खान पुत्र आर्यन खान चर्चामा छन् । उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरोले एक जहाजबाट ड्रग केसमा पक्राउ गरेको थियो । उनीसहित आठ जनालाई एनसीबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

बलिउड अभिनेता शाहरुख खानका छोरालाई छुटाउन प्रयास भए पनि अदालतमा पुगेर त्यो विफल भइसकेको छ । आर्यनसँग ड्रग नभेटिएको र उनले सेवन नगरेको भए पनि उनीसँगै रहेका साथीसँग भेटिएकै कारण उनी जेलमा छन् । 

सरकारी वकिलले आर्यनसहित सम्पूर्णमा एकै मुद्दा बनाएर कारबाही गरिरहेको छ । आर्यन पक्राउ परेसँगै बलिउडकर्मीले उनलाई सान्त्वना दिइरहेका छन् । विशेषत: सलमान खानले उनलाई भेटेर आवश्यक सहयोग पनि देखाइरहेका छन् । तर, आमिर खान, अक्षय कुमार र अजय देवगन केही बोलेका छैनन् । त्यसो त शाहरुखसँग यिनीहरूको सम्बन्ध पनि त्यति राम्रो छैन । तर, स्टार किड भएकाले उनीहरूले आर्यनको बारेमा बोल्ने अपेक्षा हुन सक्छ । 

उनीहरूले नबोलेको बारेमा बलिउड फिल्म, गीत र सिरिजको युट्युबमा समीक्षा गर्ने कमल राशिद खान अर्थात् केआरकेले सामाजिक सञ्जालमा लेखेका छन् । उनले 'यो बलिउड परिवार हो' भन्दै यी अभिनेताले आर्यनको बारेमा नबोल्नुको कारण आफ्नो अनुसन्धानअनुसार प्रस्ट्याएका छन् । आमिरले नबोल्नुको कारणबारे उनी सामाजिक सञ्जालमा लेख्छन्,'आमिरले एक साथीलाई भने म शाहरुखको मित्र पनि होइन र दुस्मन पनि । त्यसैले यस विषयमा मेरो कुनै लेनादेना छैन ।' उनले आमिरको यो भनाइलाई व्यङ्ग्य गर्दै 'यही बलिउड परिवार हो' भनेर समेत लेखेका छन् । 

अजयको प्रसंगलाई पनि उनले सामाजिक सञ्जालमा लेखेका छन् । 'अजयले एक पानमसालाको विज्ञापन एक्लै छायांकन गरेका छन् । उक्त एड शाहरुखसँग थियो । शाहरुखले एड क्यान्सिल गरे पनि अजयले आफ्नो भागको छायांकन गरे । र, उनले शाहरुखको निजी समस्याको कारणले दोहोराएर विज्ञापन नगर्नेसमेत बताएका छन्,' केआरकेले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले यसलाई पनि व्यङ्ग्य गर्दै 'यही त परिवार हो' भनेर लेखेका छन् । 

अक्षय कुमारको बारेमा पनि केआरकेले सामाजिक सञ्जालमार्फत नै आर्यनको बारेमा नबोलेको सन्दर्भलाई उल्लेख गरेका छन् । उनी लेख्छन् 'न त म शाहरुखको विपक्षमा छु, न त उनको समर्थनमा । उनको छोराले गलत गरेका हुन् भने उनले कानुनअनुसार सजाय भोग्नु पर्छ ।'

केआरकेले सामाजिक सञ्जालमार्फत बलिउड बाहिरबाट देखिँदा एक परिवार देखिए पनि भित्रको वास्तविकता फरक रहेको सन्दर्भलाई उल्लेख गरिरहेका छन् । उनले कुनै अपराध पनि नगरेर आर्यनलाई २० दिनसम्म जेलमा राखिएकोप्रति रोष प्रकट गरेका छन् ।'कुनै अपराध नै नगरी कसरी उनलाई २० दिनसम्म जेलमा राखिएको छ ? उनले प्रश्नसमेत उठाएका छन् । बारम्बार जमानत रद्द भएपछि आर्यनको वकिलले जमानतका लागि हाई कोर्टमा अपिल गर्ने तयारी गरेका छन् । न्युज कारखाना

Logo