स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचनकेन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानि अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचनकेन्द्रित कार्यक्रमहरुमा भीडभाड गर्दा कोभिड- १९ को संक्रमण दर बढ्नसक्ने बताए । उनले देशमा कोभिड संक्रमण दर धेरै नभएपनि संक्रमणको अवस्था भने यथावत रहेको उल्लेख गरे ।
उनले भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानि अपनाउनु जरुरी रहेको बताए । डा. अधिकारीले कोभिड १९ बिरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भीडभाड हुने ठाउँमा नजान पनि आग्रह गरे ।
उनले भने – ‘ठूलो मात्रामा मानिसहरु एक ठाउँ भीडभाड हुनु भनेको सामान्य अवस्थामा पनि जनस्वास्थ्यका हिसावले जोखिमपूर्ण नै मान्छौँ । त्यसमा एउटा मानिसमा भएको कुनैपनि किसिमको संक्रमण अरु मानिसमा थप जानसक्छ । त्यसले गुणात्मक रुपमा वृद्धि भएर धेरै मानिसलाई प्रभाव पार्नसक्छ भन्ने हिसावले हामीले धेरै मानिसको भीडभाड हुने कुराहरुलाई जनस्वास्थ्यको हिसावले निकै ठूलो चासोको रुपमा लिइन्छ र निगरानी गरिन्छ ।’
उनले विश्वव्यापी रुपमा कोभिड- १९ को संक्रमण घटेको बताए । देशमा पनि विगतको भन्दा सहज अवस्था रहेको उनको भनाई छ । तरपनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानि अपनाउनुपर्ने उनले स्पष्ट पारे । डा. अधिकारीले देशमा अहिले ६ सयको हाराहारीमा कोभिड १९ का संक्रमितहरु रहेको बताए ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. अधिकारीका अनुसार अहिलेसम्म ६ करोड भन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ । जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइसकिएको तथ्यांक छ । उहाँले खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताए ।
उनले ८० लाख बुस्टर मात्राको प्रयोग भएको पनि बताए । उनले कोभिड १९ बिरुद्धको खोप सरकारसँग बाँकी रहेको पनि जानकारी दिए । सर्वसाधारणहरुलाई नियमित रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीहरुलाई सम्पर्कगरी कोभिड १९ बिरुद्धको खोप लगाउन पनि डा. अधिकारीले आग्रह गरे ।































प्रतिक्रिया