ह्वात्तै बढ्यो सप्तरीमा कोरोना संक्रमण दर , निषेधाज्ञाको अवधि एक हप्ता थपियो

ह्वात्तै बढ्यो सप्तरीमा कोरोना संक्रमण दर , निषेधाज्ञाको अवधि एक हप्ता थपियो

केन्द्रबिन्दु
0
Shares

सप्तरी ।

कोरोना सङ्क्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न सप्तरीमा लगाइएको निषेधाज्ञाको अवधि पुनः एक साताका लागि बढाइएको छ ।

जिल्ला सुरक्षा समिति र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आइतबार सम्पन्न संयुक्त बैठकले जिल्लामा लागू रहेको निषेधाज्ञा पुनः एक साताका लागि थप गरेको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यको अध्यक्षतामा बसेको बैठकले सप्तरी जिल्लाको सम्पूर्ण क्षेत्रभरि लगाइएको निषेधाज्ञालाई आगामी भदौ २ गते राति ११ बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्द ठाकुरले बताए।

यसअघि जिल्ला सुरक्षा समितिले साउन २० गते बिहान ५ बजेदेखि साउन २६ गते साँझ ५ बजेसम्मका लागि जिल्लाभरि निषेधाज्ञा जारी गरेको थियो । जिल्लामा कोभिड–१९ सङ्क्रमणको अवस्था र जोखिम विश्लेषणका आधारमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम सप्तरी जिल्लाभरि अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरिएको हो । निर्णय अनुसार नेपाल राजपत्रमा तोकिएको अत्याश्यक सेवा औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसामान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन जस्ता अत्यावश्यक सेवाबाहेकको सेवा र स्थलमा अनावश्यक आवतजावत गर्न पाइनेछैन ।

उपरोक्त अत्यावश्यक कामसमेत तोकिए बमोजिमको स्वास्थ्य सुरक्षा सतर्कताको मापदण्डको पूर्ण पालना गरेर मात्र गर्न, गराउन पाइनेछ । आदेशको उल्लङ्घन गर्नेलाई कानून बमोजिम कारवाही गरिने व्यवस्था छ । सप्तरी जिल्लामा हालसम्म ५७६ जना सङ्क्रमित देखिएको र त्यसमध्ये राजविराज नगरपालिका–६ का एक पुरुष र रुपनी गाउँपालिका–५ का एक पुरुष गरी दुई जनाको मृत्यु भइसकेको छ । बढ्दो सङ्क्रमणका कारण सजगता अपनाउन, सङ्क्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न निषेधाज्ञा लगाइएको प्रशासकीय अधिकृत ठाकुरले बताए ।

आगामी मङ्गलबारको कृष्णाष्टमी लगायत कुनै पनि धर्मको कुनै पनि चाडपर्व मनाउँदा निषेधाज्ञाको बर्खिलाप नहुने गरी आफ्नै घरमा सुरक्षित साथ मनाउनसमेत प्रजिअ आचार्यले अनुरोध गरेका छन् ।रासस

Skip This
Skip This
Logo