विज्ञहरुकाे दाबी- धूम्रपान गर्नेहरु बढ्दा नेपालमा पनि क्यान्सरको अवस्था भयावह बन्दैछ

विज्ञहरुकाे दाबी- धूम्रपान गर्नेहरु बढ्दा नेपालमा पनि क्यान्सरको अवस्था भयावह बन्दैछ

केन्द्रबिन्दु
0
Shares

नेपालमा नसर्ने रोगको प्रकोप तीव्र रूपमा बढी रहेको अध्ययनले देखाएको छ । यसको प्रमुख कारकको रूपमा धूम्रपान, मध्यपान र सूर्तिजन्य पदार्थलाई लिने गरिएको छ । सूर्तिजन्य पदार्थको प्रयोगबाट विश्वमा प्रतिमिनेट १९ जना मानिसको मृत्यु हुने गरेको तथ्याङ्क पनि सार्वजनिक भएको छ । 

शुक्रबार नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सहकार्यमा काठमाडौंमा आयोजित ‘धूमपान तथा सूर्तिजन्य पदार्थको उपभोगबाट स्वास्थ्यमा हुने हानी तथा नोक्सानी, सकमस्या र नियन्त्रण’ सम्बन्धि अन्तर्क्रियामा विज्ञहरुले धूमपानको बढ्दो प्रयोगप्रति चिन्ता व्यक्त गरेका छन् । 

कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ एवं जनस्वास्थ्यविद् किशोर प्रधानाङ्गले सूर्तिजन्य पदार्थको प्रयोगबाट विश्वमा प्रत्येक वर्ष ९६ लाख मानिसहरुको मृत्यु हुने गरेको बताए ।नेपालमा पछिल्लो समय क्यान्सर रोगको अवस्था पनि भयावह रहेको उनले बताए । प्रत्येक एक लाख मान्छेमा एक सय तीन जनामा क्यान्सरको समस्या देखिने गरेको उनको भनाई छ । 

उनले भने, ‘सूर्तिजन्य पदार्थको प्रयोगबाट प्रत्येक वर्ष ९६ लाख मानिसहरुको मृत्यु हुने गर्दछ । प्रतिमहिना आठ लाख र प्रतिदिन २७ हजार, प्रतिघण्टा एक हजार दुई सय २५ जना र प्रतिमिनेट १९ जना मानिसको मृत्य हुने गर्दछ ।’ 

यस्तै, काठमाडौं महानगरपालिका स्वास्थ्य सेवा विभागका प्रमुख डा. रामप्रसाद पौडेलले काठमाडौं महानगरपालिकाले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि कानूनहरु तर्जुमा गर्ने कामहरु गरिरहेको बताए । उनले भने ‘अहिले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने संघीय कानून छ । सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमनको जिम्मा स्थानीय तहसम्म आईसकेको छैन । जबसम्म कानुन बन्दैन्, तबसम्म पुरानो संघीय कानुनअनुसार नै हुन्छ । स्थानीय तहहरुले स्थास्थ्यका क्षेत्रमा सघन रूपमा काम गर्न सकिरहेको छैन ।’  

कार्यक्रम काठमाडौं महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख सजिना महर्जनले नेपाल सरकारले सूर्तिजन्य पदार्थको नियन्त्रण र नियमनका लागि बनाएको ऐनको पालना हुन नसकेको गुनासो पोखिन् । 

अहिले कतिपय पत्रपत्रिकाहरुमा पनि नियमविपरीत सूर्तिजन्य पदार्थ र मदिराहरुको विज्ञापन आउने गरेको भन्दै उनले आपत्ति जनाइन् । उनले भनिन्, ‘काठमाडौं महानगरले सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण र नियमनलाई थप प्रभावकारी बनाउनका लागि काम गरिरहेको छ ।’ 

यस्तै, क्यान्सर रोग विशेषज्ञ डा. उज्जवल चालिसेले विश्वमा नसर्ने रोगको भयावहको कारक तत्वका रूपमा सूर्तिजन्य पदार्थलाई लिने गरिएको बताए । उनले सूर्तिजन्य पदार्थको प्रयोग कम गर्न सबै निकायले पहल गर्न आवश्यक रहेको औंल्याए । उनले भने ‘सकेसम्म सूर्तिजन्य पदार्थको प्रयोग गर्नै भएन । प्रयोग गर्ने गरेकाहरुले पनि छोड्नुपर्यो । मैले धेरै विद्यार्थीसँग अन्तरक्रिया गर्दा यो सूर्तिजन्य पदार्थको प्रयोग राम्रो होइन । म छोड्न चाहन्छु, धेरैले भनेको सुन्छु । छोड्नका लागि दृढ इच्छा शक्ति चाहिन्छ । ’ 

Logo