स्वास्थ्य मन्त्रालयमा कसैको पहुँच चल्दैनः मन्त्री बस्नेत

स्वास्थ्य मन्त्रालयमा कसैको पहुँच चल्दैनः मन्त्री बस्नेत


स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयमा कसैको पहुँच नचल्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित गुणस्तरीय सेवाको लागि फार्मेसी र थोक बिक्रेताको अभ्यास सुधार गर्न क्षमता निर्माण तालिमको राष्ट्रव्यापी शुभारम्भ कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएको वेथितीलाई नियन्त्रण गरेर देखाउने बताएका हुन् । ‘राम्रो काम गर्नेलाई सरकारले गर्नु पर्ने कुरामा कन्जुसाई नगर्ने । सबैलाई निशुल्क सेवा उपलब्ध गराउने । स्वास्थ्य मन्त्रालयमा कसैको पहुँच चल्दैन । कसैले भनेर सिफारिसको भरमा हुँदैन ।’ उनले भने । 

मन्त्री बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा गरेको कामलाई देखेर नकारात्मक चियो चर्चा भएकोसमेत टिप्पणी गरेका छन् । राम्रो कुरालाई सम्मान गर्दै देश र समाज सुधार्न पहिला आफू सुध्रिन आवश्यक भएको उनको भनाई छ ।

उनले भने, “धेरै स्वास्थ्यकर्मी दुर्गम गाउँसम्म नपुगेको सुगममा काज लिएको भन्ने गुनासो छ, भनसुन र पहुँचका आधारमा अब त्यो चल्दैन, बेथिति अन्य गरी थिति बसाल्न सबै लागौँ स्वास्थ्यकर्मीलाई गाउँसम्म पुर्‍याउने अभियानलाई निरन्तरता दिन्छु ।”

मन्त्री बस्नेतले हाल वीर अस्पतालमा लागू गरिएको बिहान ८ बजेदेखि सुरु हुने ओपिडी सेवा क्रमशः देशभर विस्तार गर्ने योजना रहेको पनि जानकारी दिए । उनले स्वास्थ्य क्षेत्रमा बेथिति मौलाएको, मानवीय स्वास्थ्यमा जोखिम बढ्दो क्रममा रहेको भन्दै यसलाई नियन्त्रण गर्न सबै सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिए ।

उनले फार्मेसी सञ्चालन र भण्डारण पारदर्शी नभएको कतिपय औषधि कम्पनीले दर्ता र नवीकरण नगरेको र मापदण्डअनुरुप बिक्री वितरण नगरेको पाइएकाले मन्त्रालयले अनुगमन र नियमनको कामलाई प्रभावकारी बनाउने बताए । 

मन्त्री बस्नेतका अनुसार मन्त्रालयले हालै काठमाडौँ उपत्यकामा एक सय फार्मेसी अनुगमन गर्दा एउटा फार्मेसी मात्रै मापदण्ड अनुसार सञ्चालन भएको पाइएको बताए । औषधिजस्तो संवेदनशील विषयको लापरबाही तवरले बिक्री वितरणले मानवीय स्वास्थ्यमाथि खेलबाड भइरहेकाले यस्तो बेथिति नियन्त्रणका लागि मन्त्रालयले हदैसम्मको निर्णय लिने उनको भनाइ थियो ।

Logo