स्वास्थ्य मन्त्रालयको ‘मेरो पोषण साथी’ मोबाइल एप सञ्चालनमा

स्वास्थ्य मन्त्रालयको ‘मेरो पोषण साथी’ मोबाइल एप सञ्चालनमा


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘मेरो पोषण साथी’ मोबाइल एप सञ्चालनमा ल्याएको छ । आइतबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी उक्त एपको शुभारम्भ गरिएको हो । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वस्थ जीवनशैली, रोगहरूको रोकथाम तथा जोखिमपूर्ण आवस्थाको न्यूनीकरणका लागि डिजिटल माध्यमको प्रवद्र्धन तथा उपयोग गर्न उक्त एप ल्याइएको बताए ।

‘कतिपय महिलाहरू पारिवारिक अवस्थाले पोषणयुक्त खानेकुरा खानबाट वञ्चित छन् । स्वस्थ्या, शिक्षा र पोषण जनताको अधिकार हो ।  तर, राज्यले यसलाई व्यवहारमा उतार्न सकिरहेको छैन । स्वास्थ जीवनशैली, रोगहरूको रोकथाम तथा जोखिमपूर्ण व्यवहारको न्यूनीकरणका लागि डिजिटल माध्यमको प्रवद्र्धन तथा उपयोग गर्न ‘मेरो पोषण साथी’ मोबाइल एप ल्याएका हौं ।’ उनले भने । 

यस एप मुख्यतः सुनौला हजार दिनको समयलाई लक्षित गरी बनाइएको हो । यस एपबाट गर्भवती तथा सुत्केरी महिला र २ वर्ष मुनिका बालबालिका तथा किशोरीहरूलाई आवश्यक पर्ने स्वास्थ्य तथा पोषणसम्बन्धी जानकारीहरू सजिलै डाउनलोड गर्न सकिन्छ ।

प्रयोगकर्ताले यस एपमा आफ्नो फेसबुक, गुगल वा अन्य इमेल खाताबाट सजिलै लगइन गर्न सक्छन् । प्रयोगकर्ताले आफ्नो अवस्थाअनुसार जस्तै गर्भवती, सुत्केरी वा २४ महिना मुनिका बालबालिका मध्ये छनौट गरी आफूलाई दर्ता गर्न सक्छन् । उक्त दर्ता प्रक्रिया पूरा गरेपछि प्रयोगकर्तालाई यस एपले निरन्तर रूपमा जानकारी तथा सन्देशहरू पठाउन सुरु गर्छ । 

यो एप एकपटक डाउनलोड गरेर आफ्नो मोबाइलमा ‘इन्स्टल’ गरिसकेपछि इन्टरनेट बिना पनि चलाउन सकिन्छ ।

Logo