देशभरका सबै किशोरीलाई निःशुल्क ‘एचपीभी’ खोप उपलब्ध हुन्छः मन्त्री बस्नेत

देशभरका सबै किशोरीलाई निःशुल्क ‘एचपीभी’ खोप उपलब्ध हुन्छः मन्त्री बस्नेत


स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क खोप ‘एचपीभी’ उपलब्ध गराउने बताएका छन्। 

बुधबार काठमाडौँको थापाथलीस्थित प्रसूति अस्पतालबाट खोप अभियानको उद्घाटन गर्दै उनले पाठेघरको मुखको क्यान्सर अत्यन्तै जटिल रोग भएकाले रोकथामको लागि ७७ वटा जिल्लाका सबै किशोरीहरूले पाउने गरी सुरुवात गरेको बताएका हुन्। 

उनले भने,‘किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क खोप ‘अत्यन्तै जटिल रोगको समस्या र जति न्यूनीकरण गर्दा गर्दै देखिरहेको अवस्थामा भएकाले यो रोग नलागोस् भन्नका लागि सिमित श्रोत र साधनको हिसाबले सुरुवात गरेका छौँ। उमेर समूहलाई ध्यानमा राखेर दिइने खोप ७७ वटा जिल्लाका सबै किशोरीहरूले पाउनुपर्छ। यसको लागि नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले पहल गर्छ।’ 

उनले निःशुल्क आधारभूत स्वास्थ्य सेवा जसरी पनि सुरु गर्नुपर्ने बताए। ‘एचपीभी’ खोप आजदेखि निःशुल्क लगाइँदैछ। एचपीभी खोप हालका लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई मात्रै दिइँदैछ। खोप लगाउनका लागि आफ्नो उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ। यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ।

Logo