मुगुको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पहिलोपटक अकुपञ्चर सेवा

मुगुको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा पहिलोपटक अकुपञ्चर सेवा


जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुगुमा पहिलोपटक अकुपञ्चर सेवा सञ्चालनमा आएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले शनिबार अकुपञ्चर सेवा थप गरेको हो। 

केन्द्र प्रमुख लक्ष्मीप्रसाद पाण्डेले हाडजोर्नी तथा नशा रोगका बिरामीका लागि उक्त सेवा विदाको दिनबाहेक अरु दिन निःशुल्क उपलब्ध गराउने बताए। अकुपञ्चर सेवा एक पटकमा चारदेखि पाँच जनासम्मले लिन सक्नेछन्।  

सेवाको उद्घाटन गर्दै कर्णाली प्रदेशका सासंद एव निवर्तमान उद्योग पर्यटन वन तथा वातवरण मन्त्री जीतबहादुर मल्लले तीनै तहका सरकार मिलेर मुगुमा पाइने जडिबुटीको संरक्षण तथा त्यसको उपयोगमा ल्याउन लाग्नुपर्ने बताए। 

जिल्लामा अकुपञ्चर सेवा सुरु भएपछि मुगुका बिरामी काठमाडौँ, नेपालगन्ज र सुर्खेत लगायत जिल्लामा जानु पर्ने बाध्यताको अन्त्य हुने विश्वास संस्थाले लिएको छ। 

सेवा नियमित भए आफूहरु जस्ता हाडजोर्नी तथा नशा रोगका बिरामीहरुले ठूलो राहत पाउने अकुपञ्चर सेवा लिन आएका सोरु गाँउपालिका-१ का हरि शाहीले बताए।

Logo